कलैया,नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य शिवचन्द्र प्रसाद कुशवाह जनमत पार्टीमा प्रवेश गर्नु भएको छ ।बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी जनमत पार्टीका अध्यक्ष सिके राउतले उहाँलाई पार्टीमा प्रवेश गराउनु भएको हो । त्यसक्रममा कुशवाहले बारा क्षेत्र नम्बर २ का जनताको भावना अनुसार चुनाव लड्न आफू जनमत पार्टीमा प्रवेश गर्नु परेको स्पष्ट पार्नुभयो । हालै सम्पन्न प्रतिनिधिसभा चुनावमा उहाँलाई जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादवले ३५४ मतले पराजित गर्नु भएको थियो । तर जनताको भावना विपरीत माओवादी केन्द्रले उपेन्द्र यादवलाई उपचुनावमा लडाउने भएपछि आफूले त्यो पार्टी परित्याग गर्नु परेको पनि कुशवाहले खुलासा गर्नु भयो ।उहाँले चुनावमा हार व्यहोरेका यादव पदलोलुप भन्दै बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा हराएर पठाउने चेतावनी समेत दिनु भयो । माओवादी पार्टीले आफूमाथि जालझेल र षड्यन्त्र गरेकाले आफूले मधेश मुक्ति र देशका लागि केही गर्ने मनोविज्ञान बोकेको सिके राउत नेतृत्वको जनमत पार्टी रोज्नु परेको उहाँको भनाई थियो । कुशवाहले भन्नु भयो, ‘अब मैले कम्युनिष्ट पार्टी होइन, देशमा केही गर्नका लागि सिके राउत राजनीतिमा प्रवेश गर्नु भएको छ । वैज्ञानिक जस्तो मान्छे, मधेश मुक्तिका लागि उहाँ आउनु भएको छ । देश र जनताको उहाँमाथि परेको मनोविज्ञान अनुसार आफूले पनि उहाँलाई साथ दिन यो पार्टी प्रवेश गरेको छु ।’यसैबीच जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले बारा क्षेत्र नम्बर २ को उपचुनावमा आफ्नो पार्टीले नछोड्ने बताउनुभएको छ । कुशवाहलाई पार्टीमा प्रवेश गराउनका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।अध्यक्ष राउतले आफ्नो पार्टीले कुशवाहलाई उम्मेदवार बनाउने र उहाँको जित हुने प्रबल सम्भावना रहेको बताउनुभयो । मधेस प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीलाई दिने सहमति सत्तारूढ गठबन्धनमा भएको उल्लेख गर्दै त्यसलाई बारा क्षेत्र नम्बर २ को उपचुनावसँग जोडेर नहेर्न उहाँको भनाइ छ ।अध्यक्ष राउतले वैकल्पिक नयाँ राजनीतिक दलहरूलाई आफ्नो पार्टीको पक्षमा मतदान गरी बारा क्षेत्र नम्बर २ बाट कुशवाहलाई जिताउन पनि आग्रह गर्नुभयो । ठूला पार्टीहरू पदका लागि मिल्ने गरेकाले नयाँ राजनीतिक शक्तिहरूले पनि मिलेर त्यो चुनावमा आफ्नो पार्टीको उम्मेदवारलाई जिताउनुपर्ने राउतको भनाइ छ ।उहाँले भन्नुभयो, ‘वैकल्पिक राजनीतिक पार्टीहरूले हामी सत्यको पक्षमा उभिने हो भनेर बुझ्नुपर्छ । यदि हामीहरू यसरी नै विभाजित भइरहने हो भने ठूला दलहरूले के गरिरहेका छन्, तपाईँहरूले बुझ्नुभएकै छ । ठूला दलहरूको सिद्धान्त नमिले पनि पदकै लागि उनीहरू जहिले पनि मिल्छन् । तर वैकल्पिक राजनीतिक शक्तिहरूले चाहिँ किन सकिरहेका छैनन् ? त्यो सोच्नुपर्छ । हामी वैकल्पिक नयाँ राजनीतिक शक्तिहरू मिलेर अब शिवचन्द्र कुशवाहजीलाई जिताउनुपर्छ ।’अध्यक्ष राउतले सत्यको पक्षमा लाग्न पनि बारा २ को उपचुनावमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको जिकिरसमेत गर्नुभयो ।

Leave a Reply