निजगढ,जिल्ला विपद् व्यवस्थापन समिति बाराले बुधवार निजगढ नगरपालिकाका विभिन्न खोला र नदीको अनुगमन गरेको छ । निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीको अनुरोधमा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा नेतृत्वको टोलीले नगरपालिका क्षेत्रभित्र पर्ने बकैया, शक्ति, लाल÷भक्तलाल र धन्सार खोलाको अनुगमन गरेकोे हो ।नगर प्रमुख पुरीले टोलीका सदस्यहरुलाई नदी च्यानलाइज र उत्खनन गर्न आवश्यक देखिएका स्थानहरुको अवलोकन गराउनुभएको थियो । सो क्रममा नगर प्रमुख पुरीले हरेक बर्ष निजगढका विभिन्न क्षेत्रमा बाढी र नदी कटानले नगरबासीको धनजनको क्षति गर्दै आएको र नियन्त्रणको लागि नदी च्यानलाइजसंगै स्वीकृत आइई प्रतिवेदन अनुसार नदीजन्य पदार्थ उत्खनन र संकलन पनि गर्न जरुरी रहेको बताउनुभयो । पटक पटक आह्वान गर्दा पनि बोलकबोल नभएपछि चालू आर्थिक वर्षको लागि निजगढ नगरपालिकाको नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्रीको ठेक्का लाग्न सकेको छैन । जसले गर्दा नगरभित्रका नदी च्यानलाइज र उत्खनन कार्य समेत हुन पाएको छैन । सो अवसरमा नगर प्रमुख पुरीले बर्षायाममा बकैया खोलामा आउने बाढीबाट निजगढ ४ स्थित कछडिया टोल, शक्ति खोलाले वडा नम्बर १३ को डम्बरपुर, भक्तलाल खोलाले वडा नम्बर १२ को कुलिया क्षेत्र र धन्सार नदीले वडा नम्बर १ नयाँबस्तिमा कटान गर्नसक्ने जोखिम रहेको र त्यसबाट हुने धनजनको क्षति रोकथामको लागि नदी च्यानलाइज र आइई रिपोर्टअनुसार उत्खनन समेत गर्नुपर्ने बताउनुभएको थियो । उहाँले आइई रिपोर्टअनुसार नदीजन्य पदार्थ उत्खनन र संकलन कार्यले पनि बाढी नियन्त्रणमा मद्दत पुग्ने बताउनुभयो ।अनुगमनपछि समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले नगरपालिकाको अनुरोधमा नदी र शंभावित जोखिमको अवस्थाबारे स्थलगत रुपमा अनुगमन गरेको र समितिको बैठक बसेर आवश्यक निर्णय लिइने बताउनुभयो ।अनुगमन टोलीमा जिल्ला समन्वय समिति बाराका प्रमुख श्री नरेन्द्रकुमार साह, डिभिजन वन कार्यालय, बाराका प्रमुख विनोद सिंह, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटी, सशस्त्र प्रहरी वल नेपाल १२ नम्बर गण हेडक्वाटर बाराका प्रमुख टोपबहादुर डाँगी, राष्ट्रिय अनुसन्धान बाराका प्रमुख अभिमन्यु कुमार सिंह, डिभिजन सिंचाई कार्यालय, बाराका प्रमुख हसमद अन्सारी, डिभिजन खानेपानी कार्यालय बाराका प्रमुख किशोरी यादव, निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौला, वडा अध्यक्षहरु, कार्यालयका कर्मचारीहरु र जिल्लास्थित संचारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply