वीरगन्ज,वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने वीरगन्जका पाँच वटा उद्योगलाई कारबाही गरि १५ लाख रुपैयाँ जरीवाना गरेको छ ।महानगरपालिकाले वीरगन्ज( पथलैया औद्योगिक कोरिडोरमा रहेका पाँच वटा उद्योगलाई जनही ३÷३ लाख रुपैयाँको दरले १५ लाख रुपैयाँ जरीवाना गरेको हो ।महानगरले वीरगन्ज महानगरपालिका वडा नम्बर २१ मा अवस्थित ग्लोबल लेदर उद्योग प्रालि, अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिद्धि टेक्सटायल्स प्रालि, मोरियम लेदर उद्योग प्रालि र वडा नम्बर ३२ मा अवस्थित दूर्गा पल्प एण्ड पेपर प्रालिलाई ३÷३ लाखका दरले जरिवाना गरेको हो ।नदी प्रदूषित गरेका पाँच वटै उद्योगलाई मंगलबार पत्रचार गर्दै ७ दिनभित्र जरिवानामा तोकिएको रकम महानगरपालिकाको कार्यालयमा बुझाउन निर्देशन दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो । ७ दिनभित्र जरिवाना बापतको रकम नबुझाएमा प्रचलित कानुन अनुसार उद्योगहरु विरुद्ध थप कारबाहीको प्रकृयाअगाडि बढाइने महानगरको पत्रमा उल्लेख छ ।वीरगन्ज महानगरपालिकाको वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ को दफा ३७ अनुसार नदी प्रदूषित गर्ने ५ उद्योगहरुलाई कारबाही स्वरुप जरिवाना गरिएको पौडेलले बताउनुभयो ।यसअघि महानगगरले गत फागुन १६ गते उद्योगहरुबाट निस्केको छाई सिर्सिया नदीमा फाल्ने ३ वटा ट्याक्टरलाई पनि नियन्त्रणमा लिएर १÷१ हजार रुपैयाँ जरिबाना तिराएको थियो ।करिब तीन दशकदेखि प्रदूषणको चपेटामा परेको वीरगन्ज शहरको लाइफलाइनकै रुपमा रहेको सिर्सिया नदीलाई प्रदूषणमूक्त बनाउन महानगरपालिकाले विगत दुई महिनायता अभियान चलाईरहेको छ । उक्त अभियानअन्तर्गत महानगरले उपमेयरको संयोजकत्वमा गठन गरेको सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले पटक पटक अनुगमन गरेको थियो ।अनुगमनका क्रममा नदी तटमा रहेका उद्योगहरुले त्यहाँबाट निस्कने फोहोर (रसायनयुक्त फोहोर पानी, छालाको लेदो, कोइलाको छाई लगायतका वस्तु) सिधै नदीमा फाल्दै आएको फेला पारेको थियो । त्यसपछि फागुन ३ मा बसेको समितिको बैठकले नदी प्रदूषण गर्ने उद्योगहरुलाई कारबाही गर्ने निर्णय गरेको थियो । त्यहि निर्णय अनुसार महानगरले अहिले जरिवानामा परेका तीनै ५ उद्योगलाई पत्र पठाएर नदि प्रदूषण नगर्न चेतावनी पनि दिएको थियो ।महानगरले लिखित रुपमै चेतावनी दिँदा समेत अटेरी गरि उद्योगका फोहोर र रसयानयूक्त पानी सिधै नदीमा फाल्ने क्रम नरोकिएपछि पाँच उद्योगलाई जनही ३÷३ लाख रुपैयाँको दरले जरिवाना गरिएको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो । उहाँले नदीलाई प्रदूषित बनाउने कार्यमा संलग्न जोसुकै भएपनि महानगरले कारबाही गर्ने र नदी प्रदूषणमूक्त बनाउने अभियान जारी राखिने बताउनुभयो ।उहाँले अनुगमन जारी रहने र नदिलाई प्रदूषित बनाउने अन्य उद्योग र निकायलाई पनि यस्तै प्रकारको कारबाही गरिने पनि बताउनुभयो ।बाराको सिमराबाट पश्चिममा पर्ने रामवनस्थित वन क्षेत्रमा मुल रहेको र्सिसिया नदी पर्साको वीरगन्ज शहर हुँदै भारतको रक्सौलसम्म पुगेको छ । औद्योगिक कोरिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटायल, घ्यू, साबूनलगायतका उद्योगबाट निस्कने रसायनयूक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौं, खरानी, लेदो लगायतका विकारहरू नदीमा मिसिइँदा दुर्गन्धित बनेको हो ।नदीको प्रदूषणले बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँवा, बेहरा, बलुवा, पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगन्ज महानगरपालिकाको रामवन, रामगढवा, विन्दवासिनी, रानीघाट, अशोकवाटिका, छपकैया सहित करिब एक दर्जन बढी गाउँ र टोलका बासिन्दा प्रभावित हुँदै आएका छन् ।सिर्सिया नदीको प्रदूषित पानीका कारण नदी छेउका बासिन्दा तथा पशु चौपायामा समेत रोगको संक्रमण देखिने गरेको नदी स्थानीय बताउँछन् ।सिर्सिया नदी आसपासका स्थानीयले प्रदूषण रोक्न माग गर्दै घेराउ गरेपछि २०६७ सालमा जिल्ला प्रशासन कार्यालयले सिर्सिया नदी अनुगमन समिति गठन गरेको थियो । उक्त समितिले नदीको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनमा प्रदूषणको कारक उद्योगहरु नै रहेको उल्लेख थियो । प्रतिवेदनमा नदी प्रदूषण गर्ने र अविलम्ब कारबाही गर्नुपर्ने उद्योगहरुको नामै किटान गरिएको थियो ।

Leave a Reply