पुष्पराज खतिवडा

मनहर्वा,किराँत राई यायोक्खाको ३५औं स्थापना दिवसका अवसरमा बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ महेन्द्रनगरकी ३२ वर्षकी सम्झना देवास राई सम्मानसहित पुरस्कृत हुनुभएको छ ।

आइतबार ललितपुरको मानभवनमा आयोजित स्थापना दिवस विशेष कार्यक्रममा सम्झनालाई ताम्रपत्रसहित ३० हजार नगद राशीको मनकुमारी साम्पाङ दुमी राई खेलकुद पुरस्कारबाट सम्मान गरिएको हो ।

सम्झना मोफसलमा बसेर कबड्डी खेलमा बिगत डेडदशकदेखि निरन्तर सक्रिय हुनुहुन्छ । खेलकुदमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरि किराँत राई समुदायको गरिमा उच्च बनाउने कार्य गरेबापत उहाँलाई पुरस्कारसहित सम्मान गरिएको यायोक्खाले जनाएको छ ।

२०१६ मा भारतको आसाममा भएको १२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साफ) मा उहाँले कास्य पदक प्राप्त गर्नुभएको थियो भने विभिन्न समयमा नेपालमै भएका प्रतियोगितामा समेत उहाँले पदक प्राप्त गर्नुभएको छ । यसअघि गत असार २२ गते किराँत राई खेलकुद संघ खोटाङ्गले समेत उहाँलाई २० हजार नगदसहित सम्मान गरेको थियो ।

सम्मानपछि कुरा गर्दै सम्झनाले भन्नुभयो ‘राष्ट्रका लागि खेलेको थिएँ । राई समुदायले गरेको सम्मान र पुरस्कारबाट धेरै खुशी छु । तर राई समुदायले मात्रै सम्झिने र अरुले बिर्सने गरेकोमा भने दुखित छु ।’ उहाँले भन्नुभयो ।आफ्नै प्रदेश र जिल्लाले खेलकुद क्षेत्रमा योगदान गर्ने मजस्तै धेरैलाई बेवास्था गरेको देख्दा आफू दुखी बनेको सम्झनाले सुनाउनुभयो ।

यायोक्खाले अन्य दश जनालाई समेत नगद पुरस्कारसहित सम्मान गरेको छ । पुरस्कृत हुनेहरुमा शिव सुन्दर मेवाहाङ राईले मदनेस्वरी राई स्मृति पुरस्कार प्राप्त गर्नु भएको छ । ३० हजार राशीको यो पुरस्कार मेवाहाङ मिथक, संस्कृतिको निरन्तर खोज अनुसन्धान गर्दै मेवाहाङ मुददुम प्रकाशन गरि संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिकाको लागि उहाँलाई प्रदान गरिएको हो ।

यसैगरी १५ हजार राशीको संगीत पुरस्कार डाक्टर किरातलाई प्रदान गरिएको छ भने २५ हजार राशीको छत्र बिष्णु राई कृति सम्मानबाट लेखक सम्पादक कौशल चेम्जोङलाई पुरस्कृत गरिएको यायाक्खाले जनाएको छ ।

यस्तै धनकेसर अतम्हरी राई स्मृति पत्रकारिता पुरस्कार पत्रकार राजेश चाम्लिङले प्राप्त गर्नुभएको छ । ताम्रपत्र र ३० हजार नगद राशीको पुरस्कार उहाँलाई किरात राई जातिको परम्परागत संचारको खोजी अध्ययन गर्दै पत्रकारितामार्फत योगदान गरे बापत प्रदान गरिएको हो ।

यसैगरी १५ हजार राशीको मोहन सिं भाषिक पत्रकारिता पुरस्कार रेडियो नेपालको क्षेत्रीय प्रसारण धनकुटामा कार्यरत शुखकला राईले पाउनुभएको छ । जागिरमान सुभाषी राई सांस्कृतिक भिडियो पुरस्कार रोशन राईले प्राप्त गर्नुभएको आयोजकले जनाएको छ । १५ हजार राशीको पुरस्कार उहाँलाई डेड दशक अगाडिदेखि सामाजिक सांस्कृतिक अभियानमा निरन्तर सकृय रहे बापत प्रदान गरिएको जनाइएको छ ।

अक्षयकोषमार्फत अन्य तीन जनालाई पनि छात्रवृत्ति र पुरस्कारहरू स्थापना दिवसको अवसरमा वितरण गरिएको यायाक्खाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here