आरके राजन

सिम्रौनगढ,सिम्रौनगढ नगरपालिका वडा नम्बर २ को अमृतगन्जस्थित दलित बस्तीमा मंगलवार बिहान भएको आगलागीबाट ६ घरगोठ जलेर नष्ट हुनुको साथै लाखौ रुपैया बराबरको धनमालको क्षति भएको छ ।इलाका प्रहरी कार्यालय सिम्रौनगढले दिएको जानकारी अनुसार दलित वस्तीका ईमरित पासवान, रामसुरत पासवान, गगनदेव पासवान, रमेश पासवान, लालबाबु पासवान र राजेश पासवानको घर जलेर नष्ट भएको हो । आगलागीमा परेर घरभित्र रहेको चामल, दाल, गहुँलगायत खाद्यान्न, लत्ताकपडा, नगद र भाडाकुडासमेत जलेर नष्ट भएको छ । प्रहरीका अनुसार १ थान मोटरसाइकल, २ थान साइकल, कृषि मिटर र विद्युतीय सामग्रीसमेत नष्ट भएका छन ।ईमरित पासवानले लामखुट्टे धपाउन भनेर बालेको घुरबाट फैलिएको आगो सल्केको र बस्ति सखाप भएको अर्का पीडित गगनदेव पासवानले बताउनुभएको छ ।आगलागीको सूचना प्राप्त गरेलगत्तै सिम्रौनगढबाट गएको वारुणयन्त्र र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।यसैबीच बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीसहित एमाले नेताहरुको टोलीले पीडितहरुसंग भेटघाट गरेको छ । टोलीमा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलसहित स्थानीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । त्यसैगरी नेपाल रेडक्रस शाखा अमृतगन्जका अध्यक्ष लालबाबु कुश्वाहाको नेतृत्वमा पुगेको टोलीले पीडित परिवारसंग भेटेर क्षतिको विवरण लिएको जानकारी छ ।

Leave a Reply