बसन्त लामा

सिंगौल,निजगढ नगरपालिका वडा नम्बर १ स्थित बनस्थली हाट बजार सुनसान हुन थालेको छ ।देशव्यापी रुपमा आर्थिक मन्दीको प्रभाव बढेसँगै बनस्थली हाट बजार पनि सुनसान हुँदै गएको हो ।बनस्थली हाट निजगढ नगरपालिकाको ग्रामिण क्षेत्रको सबैभन्दा ठूलो क्षेत्रफलमा फैलिएको बजारमध्ये एक हो । विगत ३ महिनादेखि बजारमा किनमेल गर्न आउनेको चहल पहल कम भइरहेको व्यवसायीहरु बताउँछन् ।विगतमा दिउँसोको ३ बजेपछि घरायसी मालसामाना खरिद गर्न आउनेहरुबाट बजार र भरिभराउ हुने गर्दथ्यो । गत हप्तादेखि ४ बज्दा पनि बजार गर्न आउनेको संख्यामा कमी हुन थालेसँगै व्यापारीहरु चिन्तामा परेका छन् ।टाढाबाट व्यापारी सामान ल्याएर बजारमा राख्दा व्यापार कम हुँदा गाडी भाडा समेत तिर्न कठिनाइ भएको कपडा व्यापारी सेख प्रवेश बताउँनुहुन्छ । गाउँमा बजार सञ्चालनमा आएदेखि गाडी चढेर निजगढ बजार धाउनु पर्ने समस्याबाट स्थानीयलाई मुक्ति मिलेको थियो । सिंगौलमा बजार स्थापना भएसँगै स्थानीयदेखि छिमेकी जिल्ला रौतहटका बासिन्दालाई समेत सहज भएको थियो । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ भालुखोप, पुरानो नर्सरी, अरुण बस्तीका स्थानीयलाई चंद्रपुरको हाट बजारभन्दा सिंगौल वडा नम्बर १ को बनस्थली हाट बजारमा किनमेल गर्न सहज भएको थियो ।
सो बजार रौतहटको चन्द्रपुरको वडा नम्बर ३ का स्थानीयलाई मात्र नभएर मकवानपुर जिल्ला बकैया गाउँपालिकाको वडा नम्बर १ राजुवा, ढिकीडाँडा, धोबीखोला, इपिल बस्ती, डाङडुगे, महादेउ डाँडा, धियाँल, तिनभंगालेका स्थानीय पनि बजार गर्न आउने गरेका छन् ।त्यस्तै बकैया गाउँपालिका वडा नम्बर २ को दमैचौर, तिनढुंगे, सरस्वति र थाकल चौरका स्थानीय समेत हप्ताको २ पटक मगलबार र शनिबार लाग्ने हाट सो बजारमा किनमेल गर्न आउने गरेका छन् ।केही दिनदेखि बजार गर्न आउनेको संख्यामा कमी हुँदा सिंगौलका व्यापारीहरुको कारोबार घटेको बनस्थली हाट बजार व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल वाइबाले बताउनुभयो ।



















