बरियारपुर,सिम्रौनगढ,बाराको महागढीमाई, पचरौता नगरपालिका र देवताल गाउँपालिकाले बुधबार आर्थिक वर्ष ०७८÷०७९ को बजेट सार्वजनिक गरेका छन । महागढीमाईले ५६ करोड ७३ लाख ८ हजार, पचरौताले ४५ करोड ८८ लाख र देवताल गाउँपालिकाले ३३ करोड ८० लाख ७५ हजारको बजेटसहित निति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
नगर प्रमुख उपेन्द्रप्रसाद यादवको अध्यक्षतामा भएको पाँचौं नगर सभामा आर्थिक वर्ष ०७८÷०७९ को लागि ५६ करोड ७३ लाख ८ हजार बराबरको अनुमानित आयव्याय बजेट प्रस्तुत गरिएको थियो । बजेटमा नेपाल सरकारबाट बित्तिय समन्ययीकरण अनुदान १५ करोड ९५ लाख, राजश्व बाँडफाँडबाट ९ करोड ५४ लाख ४८ हजार, ससर्त अनुदान २३ करोड ८९ लाख, समपुरक अनुदान १ करोड ६६ लाख ४८ हजारको सिलिङ्ग नगर प्रमुख यादवले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड १० लाख ८७ हजार, राजश्व बाँडफाँडबाट ४५ लाख ७३ हजार विशेष अनुदान ३० लाख र समपुरक अनुदान रु २० लाख गरि २ करोड ६ लाख ६० हजारको सिलिङ्ग प्राप्त भएको छ ।
नगर प्रमुख यादवले अगामी बजेटले कोभिड नियन्त्रण, शिक्षा स्वास्थ्य, कृषि तथा पुर्वाधार निर्माण कार्यलाई प्राथमिकता राखेको बताउनुभयो ।
महागढीमाई नगरपालिकाको प्राङ्गणमा आयोजित नगर सभाको नेपाली कांग्रेसका केन्द्रीय सद्स्य राधेचन्द्र यादवले पानशमा बत्ति बालेर उदघाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले नगरको बिकासमा नगरपालिकाले ल्याएको बजेट सराहनीय रहेको बताउनुभयो । नगर सभामा राष्ट्रिय सभा सद्स्य रमेश यादव, नेपाली कांग्रेस बारा क्षेत्र २ का सभापति रामप्रवेश यादव, नगरपालिकाकी उपप्रमुख तारा देबी कानु, वडा अध्यक्ष लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी पचरौता नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८÷७९ को लागि ४५ करोड ८८ लाख २४ हजार रुपैयाको बजेट बिनियोजन गरेको छ । नगरपालिकाले संघीय सरकारको ससर्त अनुदानतर्फ १६ करोड ८२ लाख राजस्व बाँडफाँडतर्फ ८४ लाख, विशेष अनुदानतर्फ १ करोड २० लाख समपुरक अनुदान ४३ लाख प्रदेश सरकारबाट ८० लाख बित्तिय समानीकरणतर्फ ८० लाख र समपुरक अनुदान २० लाख र विशेष अनुदान ३० लाख र ५ करोड ५० लाख नगरपालिकाको आन्तसम स्रोतबाट जुटाइने जनाइएको छ ।
नगरपालिकाको सातौं नगर सभामा बोल्दै नगर प्रमुख रमेशकुमार यादवले नगर स्तरीय बिपत व्यावस्थापनको लागि स्थाापना गरिएको बिपत व्यवस्थापन कोषलाई अझ मजबुत गरिने बताउनुभयो । पशुपालन तथा कृषिको लागि ठुला दुईवटा कृषि केन्द्रको स्थापनाको लागि सम्भाभ्यता अध्ययन गरिने पनि उहाँले जानकारी दिनुभयो । बजेटमा रोजगारी सृजनाको लागि उत्पादन अभिवृद्धि कार्यक्रममार्फत हरेक वर्ष रोजगारी वृद्धि गर्न बजेट विनियोजन गरिएको छ । नगरपालिकामा रहेका किसानको विजुली मिटरको बिलको रकम भुक्तानी गर्ने घोषणा पनि बजेटमा छ ।
नीति तथा कार्यक्रममा नगरपालिकामा वातावरण स्वच्छ राख्न वृक्षारोपण कार्यलाई अभियानको रुपमा अघि बढाउने पनि बताइएको छ । बजेट सार्वजनिक कार्यक्रमको संचालन शिक्षा संयोजक प्रमोदप्रसाद यादव र प्रशासकीय अधिकृत श्यामप्रसाद यादवले स्वागत मन्तव्य राख्नु भएको थियो ।
उता, देवताल गाउँपालिकाको सातौं गाउँसभा पनि बुधबार पिप्राढिमा सम्पन भएको छ । देवताल गाउँपालिका अध्यक्ष चन्दन सिहको सभापतित्वमा भएको गाउँ सभाबाट आर्थिक वर्ष ०७८÷०७९ मा ३३ करोड ८० लाख ७५ हजारको बजेटसहित निति तथा कार्यक्रम सार्वजनिक गरिएको थियो । देवताल गाउँपालिकाले चालूतर्फ ६ करोड ९९ लाख ८५ हजार, पुँजीगततर्फ २६ करोड ८० लाख ९० हजार रकम बिनियोजन गरेको छ ।