वीरगन्ज,वीरगन्जमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा आइतबार दिउँसो वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाकी ५१ बर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएको हो । नारायणी अस्पतालमा शनिबार दिउँसो भर्ना भएकी ती महिलाको उपचारका क्रममा आइतबार दिउँसो साढे १ बजे मृत्यु भएको हो । ज्वरो, खोकी र निमोनियाको समस्या भएपछि शनिबार उपचारका लागि गण्डक अस्पतालमा पुगेकी ती महिलाको पीसीआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि शनिवार नै दिउँसो उनलाई नारायणी अस्पतालमा लगेर भर्ना गरिएको थियो । त्यहि उपचारका क्रममा उनको आइतबार दिउसो मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक डाक्टर निरज सिंहले जानकारी दिनुभयो । यसअघि गत बिहीबार पनि नारायणी अस्पतालमै वीरगन्ज २ की ४२ बर्षीया संक्रमित महिलाको मृत्युु भएको थियो । गत मङगलवार पनि नारायणी अस्पतालमै पर्साका १ र बाराका १ जना गरि २ जना संक्रमितको मृत्यु भएको थियो । सोमबार पर्साका १ जना संक्रमित पुरुषको चितवनको भरतपुरमा मृत्यु भएको थियो । पछिल्लो एक हप्तामा कोरोना संक्रमणका कारण पर्सा र बाराका गरि ५ जनाको मृत्यु भइसकेको छ ।

कोरोना संक्रमित युवक फरार

वीरगन्ज नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा आइतबार एन्टिजेन प्रविधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका ४ मध्ये एक संक्रमित युवक फरार भएका छन् । शंकास्पद ५३ जनाको स्वाब लिने क्रममा स्वाब दिएका ती युवक परीक्षणको रिपोर्ट नआउदै फरार भएका हुन् । स्वाब संकलनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी व्यस्त रहेको मौका छापेर ती युवक फरार भएका हुन् । आइतबार ५३ जनाको स्वाब नमूना लिएर हेल्थ डेस्कमै एन्टिजेन परिक्षण गरिएको थियो । परिक्षणको रिपोर्ट आधा घण्टामै आएको थियो । हेल्थ डेस्कमा खटिएका अहेब सैनुल्लाह अन्सारीका अनुसार रिपोर्ट आएपछि संक्रमण भेटिएका ४ मध्ये वीरगन्जका गुप्ता थर भएका ती युवकलाई सुरक्षाकर्मीले खोजीनीति गर्दा उनी त्यहा फेला परेनन् । उनको मोबाइल नम्बरमा फोन गर्दा मोबाइल स्वीच अफ छ । फरार भएका संक्रमित युवकको खोजी भइरहेको नाकास्थित इनर्वा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक पूर्ण प्रसाद दाहालले बताउनुभयो । चैत २३ देखि बैशाख ५ गते दिउसोसम्म भारतबाट वीरगन्ज नाका हुदै प्रवेश गर्न लागेका १४ जनामा कोरोना संक्रमण भेटिसकेको छ । वीरगन्ज नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा आइतबारमात्रै भारतबाट नेपाल प्रवेश गर्न लागेका ५३ जनाको एन्जिजेन प्राविधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार एक नेपाली र ३ भारतीय गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी सैनुल्लाह अन्सारीले जानकारी दिनुभयो । हेल्थ डेस्कमा चैत २३ गते देखि एन्जिटजेन प्राविधिबाट कोरोनाको परीक्षण गर्न थालिएको हो । नाकाको हेल्थ डेस्कमा चैत २३ देखि बैशाख ५ गते दिउसोसम्म ४ सय ४३ जनाको एन्टिजेन प्रविधिबाट परिक्षण गर्दा १४ जनामा कोराना संक्रमण भेटिएको अन्सारीले बताउनुभयो । यसैबीच प्रदेश २ का मुख्यमंत्री लालबावु राउत गद्दीले बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि आइतबार सर्वपक्षीय बैठक आह्वान गर्नुभएको छ । वीरगन्ज सहित मधेशका जिल्लाहरुमा कोरोना बढेको भन्दै मुख्यमंत्री राउतले सर्वपक्षीय बैठकको आह्वान गर्नुभएको थियो । बैठकमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, बारा, पर्सा लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, जनप्रतिनिधि, वीरगन्ज महानगरपालिकाका मेयर बिजयकुमार सरावगी लगायतको उपस्थिति रहेको थियो । बैठकले कोरोनाको दोश्रो लहर समुदाय स्तरमा नै देखा परेको भन्दै स्वाथ्यका सबै मापदण्डहरु पालना गराउनका लागि कडाइ गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here