वीरगञ्ज,मानव बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले वीरगञ्जबाट चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दुई महिला र दुई पुरुष छन् । वीरगजस्थित होटलमा राम्रो काम लगाईदिने प्रलोभन देखाएर महिलालाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा उनीहरु पक्राउ परेको प्रहरी प्रवक्ता सुवास भट्टले जानकारी दिनुभयो । भन्सार नजिक रहेको होटलबाट उद्धार गरिएका दुई महिलाको बयानको आधारमा उनीहरु पक्राउ परेको प्रवक्ता भट्टले बताउनुभयो ।
भट्टका अनुसार पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका १४ की ३८ वर्षीया मिराकुमारी महतो, महोत्तरी भंगहा नगरपालिका २ टिकुलियाकी ३२ वर्षीया सुक्रान्ती चौधरी, ओखलढुंगा देयाले गाउँपालिका ५ का ३३ वर्षीय दीपेश राई र भारत बिहारका ३५ वर्षीय मनेजर राय रहेका छन् ।प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले भन्सारस्थित होटल स्वस्तिक र होटल रितेशबाट दुई जना महिलाको उद्धार गरेको थियो । ती महिलाले दिएको बयानका आधारमा चार जना पक्राउ परेका हुन् । उनीहरुलाई मानव बेचबिखत तथा ओसारपसार नियन्त्रण ऐन बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता भट्टले जानकारी दिनुभयो ।


















