काठमाण्डौ,मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनल र दुई जना मन्त्रीले शपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहका बीच मुख्यमन्त्री सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट शपथ लिनुभएको हो ।
यस्तै त्यही कार्यक्रममा मधेश प्रदेशका नवनियुक्त दुई जना मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिनुभएको छ । जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रमुख सचेतक कनिष पटेलले विनाविभागीय मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएको हो । उहाँहरूलाई मुख्यमन्त्री सोनलको उपस्थितिमा प्रदेश प्रमुख भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।सोनल हिजो बेलुका ५ दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । यस्तै सोनलको सिफारिशमा आज दुई जना मन्त्री नियुक्त हुनुभएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको नेतृत्वमा गठन भएको नयाँ सरकारमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी सहभागी रहेका छन् ।
सेवा गर्न आएको हुँः मुख्यमन्त्री सोनल
जनकपुरधाम,
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले मधेस प्रदेशलाई समृद्धि र विकासको बाटोतर्फ अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।बिहीबार पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री सोनारले प्राप्त अधिकारको संरक्षण गर्दै मधेशका जनताको पक्षमा सरकारले काम गर्ने उहाँले बताउनुभएको हो । हालको विषम परिस्थितिमा जनताको मुद्दा शंवोधन गर्ने लक्ष्यका साथ सरकार सञ्चालन गर्ने उहाँको भनाई थियो ।“मुख्यमन्त्रीको पदमा सेवा गर्न आएको हुँ, इन्जोइ गर्न होइन,” सोनलले भन्नुभयो, “अधिकारको कुरा संरक्षण र संस्थागत गर्दै सुशासन कायम गर्ने तथा समृद्धि र विकासको दिशामा अघि बढ्ने मेरो प्राथमिकता हुने छ ।”
उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै सहिदको सपना साकार पार्ने प्रतिबद्धता पनि जनाउनुभयो । सोनलले मधेश प्रदेशलाई विकास र समृद्धिको बाटोमा डो¥याउने चुनौती स्वीकार गरेर सरकार अघि बढ्ने बताउनुभयो । उहाँले आफूलाई मुख्यमन्त्रीमा समर्थन गर्ने छ दलीय गठबन्धनमा सहभागी सबै दल र नेताप्रति आभार पनि व्यक्त गर्नुभयो ।


















