आरके राजन

सिम्रौनगढ,नगर प्रमुख किशोरीप्रसाद कलवारले नगर कार्यपालिका बैठकको निर्णय कार्यान्वयन गरेको भन्दै कार्यपालिका सदस्यहरुले सिम्रौनगढ नगरपालिकामा गरेको तालाबन्दी चार दिनपछि बिहीवार दिउसोबाट खुलेको छ । बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नवराज सापकोटाको रोहबरमा बुधवार पाँच बुँदे सहमति भएपछि कार्यपालिका सदस्यहरुले तालाबन्दी खोलेका हुन ।करार, अस्थायी तथा ज्यालादारीका कर्मचारीको म्याद थप गर्ने विषयमा कार्यपालिकाको बोर्ड बैठकले गरेको निर्णय नगर प्रमुख कलवारले कार्यान्वयन नगरेको भन्दै वडाध्यक्षसहितका जनप्रतिनिधिले नगरपालिकामा आइतवार तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण कार्यालयबाट प्रवाह हुँदै आएको सेवा ठप्प भएको थियो ।नगरपालिकामा उत्पन्न विवाद समाधान गर्न प्रजिअ सापकोटाको रोहबरमा जिल्ला प्रशासन कार्यलयमा नगर प्रमुख कलवार र वडाध्यक्षबीच छलफल भएको थियो । छलफलमा नगरपालिकामा स्थायी कर्मचारी पदपूर्ति नहुँदासम्म हाल कार्यरत कर्मचारीलाई निरन्तरता दिने सहमति भएपछि कार्यालयको तालाबन्दी खुलेको हो ।यसैगरी नगरपालिकामा स्विकृत दरबन्दी अनुसारको स्थायी कर्मचारी पदपूर्ति गर्नका लागि कार्यपालिका बैठकले निर्णय गरी प्रदेश लोक सेवा आयोगमा पत्राचार गर्ने निर्णय समेत छलफल भएको छ ।छलफलमा नगरपालिकाको योजना शाखामा कार्यरत जितेन्द्र यादवको स्थानमा नगर प्रमुखले कार्यालयमा कार्यरत इन्जिनियरमध्ये एकलाई उक्त जिम्मेवारी दिने निर्णय भएको छ ।

















