वीरगञ्ज महानगर र उद्योगीबीच सिर्सिया नदीमा फोहर पानी नमिसाउने सहमति वीरगञ्ज,वीरगञ्जको सिर्सिया खोलामा स्थानीय उद्योगबाट निस्किएको रसायनयुक्त फोहोर पानी नमिसाउने सहमति भएको छ ।

नदीमा फोहोर मिसाउदैआएका उद्योग संचालकहरुले वीरगञ्ज महानगरपालिकासंग फोहोर व्यवस्थापनको लागि बुधवार ४ बुँदे सहमति गरेपछि सिर्सिया नदी अब प्रदुषणमुक्त हुने भएको हो ।वीरगञ्ज– पथलैया औद्योगिक कोरिडोरको अरनिको टेक्सटाइल, सिद्धी टेक्सटाइल र मरियम लेदर उद्योगका संचालकहरुले वीरगञ्ज महानगरपालिकासँग फोहोर नमिसाउने ४ बुँदे लिखित प्रतिवद्धता जनाएका हुन ।महानगरपालिकाले नदीमा फोहोर फ्याक्ने उद्योगहरुमाथि कारबाही स्वरुप मुल गेटमा लगेर फोहर थुपार्न थालेपछि परवानीपुरस्थित सिद्धी टेक्सटाईलका संचालक अशोक मित्तल, अरनिको टेक्सटाइलका संचालक गौरव गाडिया र मरियम लेदरका संचालक फरुख जमईले नदीमा फोहोर फाल्ने क्रम ४ दिनभित्र रोक्ने लिखित प्रतिबद्धता गरेका हुन ।
यस्तो छ सहमति
१. सिर्सिया नदीमा फोहर पानी नमिसाउने,
२. १५ दिनभित्र पानी प्रशोधन गर्ने प्लाण्ट जडानको प्रक्रियाअगाडि बढाउने,
३. लाख रुपैयाँ जरिवाना २४ घण्टाभित्र तिर्ने,
४. महानगरपालिकासँग सहकार्य गर्दै वातावरणीय प्रदूषण रोक्न प्रयास गर्ने ।

नगर प्रमुख राजेशमान सिंहको कार्यकक्षमा आयोजित छलफलमा उद्योगपतीहरुले गरेको लिखित प्रतिबद्धता पूरा नभए महानगरपालिकाले फेरि कडा कदम चाल्ने चेतावनी दिइएको छ । पछिल्लो पटक गरेको प्रतिबद्धता पूरा नगरे त्यस्ता उद्योग विरुद्ध महानगरपालिकाले फेरि कडा कदम चाल्ने नगर प्रमुख सिंहले बताउनुभयो ।यसअघि महानगरपालिकाले तोकेको जरिवाना नतिर्ने अरनिको टेक्सटाईल उद्योग परिसरमा बुधवार बिहान पनि महानगरपालिकाका कर्मचारीले शहरी क्षेत्रबाट संकलन गरिएको १६ ट्याक्टर र २ टिपर फोहर लगेर थुपारेका थिए । महानगरपालिकाले नदी प्रदुषित पार्ने उद्योगहरु विरुद्ध कारबाही तीव्र पारेपछि उद्योग संचालकहरु ४ बुंदे सहमति गर्न बाध्य भएको बताइएको छ ।

महानगरपालिकाले उद्योगबाट निस्किएको फोहर पानी सिर्सियाान मिसाउने उद्योगहरुलाई यसअघि जरिवाना गर्दै आएको थियो । तर तोकेको जरिवाना नतिर्ने र फोहोर मिसाउन पनि नरोकेपछि महानगरले कारबाही स्वरुप त्यस्ता उद्योगको मुल गेटमा गत आइतवारबाट शहरी क्षेत्रबाट संकललित फोहोर लगेर थुपार्न शुरु गरेको थियो ।

Leave a Reply