कलैया,बाराका रामसहायप्रसाद यादव देशको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । शुक्रवार भएको उपराष्ट्रपतिको चुनावमा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका बासबरिया घर भएका जनता समाजवादी पार्टी (जसपा) का नेता यादव बहुमत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।यादवले ३० हजार तीन सय २८ मतभार प्राप्त गर्नुभयो । उहाँले सङ्घीय संसद्तर्फ १४ हजार पाँच सय ३६ र प्रदेश सभातर्फ १५ हजार सात सय ९२ मतभार पाउनुभएको छ । प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा गरी कुल मतभार ५२ हजार छ सय २८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात् २६ हजार तीन सय १४ मतभारभन्दा बढी मत ल्याउनुभएको छ । यादवले नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पराजित गर्नुभएको हो ।उपराष्ट्रपतिमा जसपा सांसद प्रमिला कुमारीले पनि उम्मेदवारी दिनुभएको भए पनि मतदानअघि नै उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै यादवलाई सघाउनुभएको थियो । यादव गएको मङ्सिर ४ गते भएको प्रतिनिधि सभाको चुनावमा बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो ।त्यसैगरी नवनिर्वाचित उपराष्ट्रपति यादवले राष्ट्रिय एकतालाई बलियो बनाउन र प्रवर्धन गर्न आफू लाग्ने बताउनुभएको छ । उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपराष्ट्रपति यादवले यस्तो बताउनुभएको हो । उहाँले देशलाई समृद्धितर्फ लैजाने काममा पनि आफू लाग्ने बताउनुभयो । शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन पनि आफ्नो तर्फबाट प्रयास हुने उहाँको भनाइ छ ।यसैबीच सत्ता गठबन्धनबाट साझा उम्मेदवार यादवलाई निर्वाचन आायोगले उपराष्ट्रपतिको प्रमाणपत्र प्रदान गरेको छ । उहाँलाई निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र प्रदान गर्नुभयो ।उता, गण्डकी प्रदेशका प्रदेश सभा सदस्य प्रकाश बरालले किरियापुत्रीकै अवस्थामा उपराष्ट्रपतिको निर्वाचनमा भाग लिनुभएको छ । उहाँ गत आम निर्वाचनमा कास्की ३ ( ख) बाट निर्वाचित हुुनुभएको थियो । उहाको बुवाको निधन भएको हिजो आठ दिन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here