काठमाण्डौ – विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई हराएर विश्व कप क्रिकेटको क्वालिफायरमा पुगेको छ ।त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा पानी परेर खेल रोकिएपछि ’डकवर्थ लुइस’ नियमका आधारमा नेपाल विजयी भएको हो । नेपाल ९ रनले विजयी भयो ।जितसँगै नेपालले एकदिवसीय विश्व कप क्रिकेटको सिधै क्वालिफायर खेल्ने पक्का भएको हो । नेपालले जिम्बाब्वेमा हुने क्वालिफायरमा दक्षिण अफ्रिका, श्रीलङ्का, लगायतका टेष्ट मान्यता प्राप्त देशसँग खेल्ने सम्भावना छ । आजको जितसँगै लिग टू मा नेपालको ४० अङ्क भएको छ र नामिबियालाई पछि पारेर नेपाल तेस्रो नम्बरमा पुगेको छ । नेपालको जितले नामिबियाले भने सिधै क्वालिफायर खेल्ने पाउने छैन । आजको खेलमा नेपालमा ४ जना खेलाडीले अर्धशतक बनाए ।नेपालका लागि कुशल भुर्तेलले ५०, भीम सार्कीले ६७, आरिफ शेख ५२ र गुल्सन झाले ५० रन बनाए । यूएईका जुनैद सिद्दिकीले ३ विकेट लिए । नेपालले लिग टू का पछिल्ला शृङ्खलामा निकै सनसनीपूर्ण नतिजा निकालेको छ । पछिल्ला १२ खेलमा नेपाल ११ वटा खेलमा विजयी भएको छ । जम्मा एउटा खेलमा पराजित भएको छ । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनायो । उसका लागि आशिफ खानले १ सय १ रन बनाए । उनले ४० बलमै शतक पूरा गरेका हुन् ।एसोसिएट क्रिकेटमा बिहीवार आशिफले सबैभन्दा छिटो शतक हान्ने रेकर्ड पनि बनाएका छन् । यस्तै, वृत्य अरविन्दले ९४, मोहम्मद वासिमले ६३ रन र रोहन मुस्ताफाले २० रन बनाए । बलिङतर्फ नेपालका दिपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट लिए ।यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व कप क्रिकेटको छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई दिनुभएको छ ।आईसीसी क्रिकेट विश्व कप लिग टू अन्तर्गत त्रिवि क्रिकेट मैदानमा यूएईसँग भएको खेलमा ’डकवर्थ लुइस’ नियमका आधारमा नेपाल विजयी भएको हो । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुक, ट्विटरमार्फत् खुशी व्यक्त गर्दै खेलाडीहरुलाई बधाई दिनुभएको छ ।‘लिगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभीमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई !’ उहाँले लेख्नुभएको छ ।उहाँले नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत सबैलाई शुभकामना दिनुभएको छ ।



















