कलैया,पशुबलिका लागि विश्वप्रसिद्ध बाराको बरियारपुरस्थित पञ्चवर्षीय गढीमाई मेलामा मनोरञ्जनको स्टल राख्न ५ दर्जनभन्दा बढी व्यवसायीले अनुमति लिएका छन ।मेला मनोरञ्जन उपसमितिका संयोजक गजेन्द्र जैसवालले अहिलेसम्म पाँच दर्जन बढीले मनोरञ्जनको स्टल राख्नको लागि स्वीकृति लिएको र सोही अनुसारको व्यवस्थापन भइरहेको बताउनुभयो ।
मेलामा झुला, मौतका कुवा, थिएटर, सर्कसलगायतका मनोरञ्जन देखाउने तयारी भइरहेको उहाँले बताउनुभयो । उहाँले मेलाविरुद्ध अफवाह फैलाउने कार्य भएको र मनोरञ्जनका साधनहरू मेलाबाट बाहिरिएको भन्ने कुरामा सत्यता नरहेको बताउनुभयो । मेला शुरू भएसँगै गढीमाई क्षेत्रमा मनोरञ्जनका साधनहरू आउने क्रम पनि शुरू भएको छ ।

हरेक ५ वर्षमा एक पटक लाग्ने गढीमाई मेला गत मङ्सिर १ गतेदेखि विधिवतरुपमा शुरू भएको छ । महागढीमाई नगरपालिका– १ बरियारपुरमा पञ्चवर्षीय गढीमाई मेला शुरू भए तापनि मुख्य मेला मङ्सिर १७ गतेदेखि शुरू हुने मेला मूल समितिले जनाएको छ । सोही अवधिमा सबैभन्दा बढी भक्तजनहरूको भीड हुने समितिले जनाएको छ । पहिले सवारीसाधनहरू पर्याप्त नभएको र सबैको पहुँचमा निजी सवारीसाधनहरू नभएका कारण मानिसहरूको भीड देखिने गरेको थियो । अहिले मेला शुरू भएसँगै देशका विभिन्न स्थान र भारतका विभिन्न स्थानबाट सवारीसाधन लिएर मानिसहरू मेला हेर्न आउने र जाने क्रम जारी छ ।गढीमाईसम्म पुग्ने सडकमा सुधार भएको छ र श्रद्धालुहहरूले सवारीसाधनहरूको प्रयोग गरेर आफ्नो अनुकूलको समयमा गढीमाईको दर्शन गर्न थालेका छन ।
मेलामा एनप्याब्सनको निःशुल्क बस सेवा
कलैया,गढीमाई मेलामा श्रद्वालु यात्रीहरुको सुविधाको लागि एनप्याब्सन बाराले ४० वटा बस निःशुल्क उपलब्ध गराउने भएको छ ।दर्शनार्थीहरुको सुविधाको लागि मंसिर २१ र २२ गते जिल्लाका विभिन्न पालिकाबाट ४० वटा यात्रु बस निःशुल्क रुपमा संचालन गरिने नेशनल प्याब्सन बाराका अध्यक्ष प्रभुप्रसाद कुशवाहाले जानकारी दिनुभयो । अध्यक्ष कुशवाहाले भक्तजनलाई मन्दिर आसपास क्षेत्रसम्म पुग्न सजिलो होस भन्ने उद्देयले निःशुल्क बस सेवा संचालन गर्न लागिएको बताउनुभयो ।अध्यक्ष कुशवाहाले पंचबर्षिय गढीमाई मेला व्यवस्थापन मुल समितिका अध्यक्ष उपेन्द्रप्रसाद यादवलाई आइतवार भेटर निःशुल्क बस सेवा उपलब्ध गराउने बारेको लिखित प्रतिबद्धता जनाउनुभएको हो ।

Leave a Reply