काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताउनुभएको छ ।विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीमा साथ र सङ्ख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास जारी रहने बताउनु भएको हो। उहाँले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न ठाउँ दिएको र पार्टीभित्र पटकपटक प्रयोग हुनाका साथै नेता परिवर्तन भएको उदाहरण रहेको बताउनु भयो ।देशको आवश्यकताअनुसार आजको दिनमा आफू दलको नेता भएमा पार्टीलाई राम्रोसँग सञ्चालन गर्ने महामन्त्री थापाको भनाइ छ । यस्तै, कोशी प्रदेशको सरकार निर्माणका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई पार्टीले स्वीकार गर्ने उहाँले बताउनुभयो । केन्द्रीय समितिको बैठक नबसेको कारण कोशी प्रदेश सरकार गठनका सम्बन्धमा खुल्ला छलफल गर्न नसकिएको उल्लेख गर्दै उहाँले यसबाट राष्ट्रिय राजनीतिका थुप्रै विषय प्रभावित भएका जानकारी दिनुभयो ।महामन्त्री थापाले केन्द्रीय समितिको बैठकले नीति महाधिवेशनको मिति तय गर्नाका साथै नीति अधिवेशनले चुनावमा राजनीतिक दलहरुबीच गठबन्धन गर्ने राजनीतिक संस्कृतिको अन्त्य गरेर नयाँ बाटो खोज्ने बताउनुभयो । वर्तमान गठबन्धन सरकार परिवर्तन नहुने दाबी गर्दै उहाँले सरकारले नागरिकप्रति दत्तचित्त भइ कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।


















