नरेश गुप्ता
बरियारपुर,जनता समाजवांदी पार्टीबाट बाराको आदर्श कोतवाल गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित मुस्ताफा अंसारी नेकपा एमालेमा प्रवेश गर्न लाग्नु भएको छ । आगामी फागुन २८ गते आदर्शकोतवालको च्युटाहामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने आमसभाबाट अध्यक्ष अन्सारीले पार्टी प्रवेश गर्न लाग्नुभएको हो । अध्यक्ष अन्सारीसहित अन्य पार्टीका कार्यकर्ताहरु पार्टी प्रवेश गर्ने भएपछि नेकपा एमाले बारा जिल्ला कमिटीले अध्यक्ष ओलीलाई प्रमुख अतिथि बनाएर च्युटाहामा जनसभा गर्न लागेको हो ।
जनता समाजवादी पार्टी मधेस प्रदेशमा कमजोर बन्दै गएपछि आफूले एमाले पार्टी रोजेको गाउँपालिका अध्यक्ष अंसारीले बताउनुभयो । पूर्वप्रधानमन्त्री ओलीसंग आफ्नो बिचार मिलेको र भेटघाटको क्रममा सकारात्मक कुराकानी भएपछि आफूले एमालेलाई रोजेको उहाँले बताउनु भयो ।
आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ७ मा स्थायी बसोबास भएका अध्यक्ष अंसारीले एमाले पार्टीमा प्रवेश गर्न लागेपछि उहाँसंगै आदर्श कोतवाल गाउँपालिकाबाट अन्य पार्टी समेत परित्याग गरि सयौं कार्यकर्ता एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको बताइएको छ ।
सोही कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष डा. अख्तर मंसुर लगायत अन्य कार्यकर्ताहरु समेत नेकपा एमालेमा प्रवेश गर्ने एमाले बारा जिल्ला कमिटी अध्यक्ष विनोद साहले बताउनुभयो ।
स्थानीय निर्वाचनको मुखमा आदर्श कोतवाल गाउँपालिका अध्यक्ष अंसारी सहित सयौं कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेपछि बारा जिल्लामा जसपालाई ठूलो झट्का लाग्ने भएको छ ।