रौतहट,रौतहट जिल्लाको विश्रामपुरस्थित एक विद्यालयबाट ६ थान कम्प्युटर चोरी भएको छ ।जिल्लाको पूर्वी भेगमा पर्ने वृन्दावन नगरपालिका–२ स्थित नेपाल माध्यमिक विद्यालय विश्रामपुरमा बुधवार राति प्रधानाध्यापकको कक्ष, लेखा तथा प्रशासन फाँट र कम्प्युटर ल्याबको तल्चा फुटाएर ६ वटा कम्प्युटर चोरी भएको थियो ।कम्प्युटर ल्याबबाट ४ थान, स्मार्ट क्लासबाट एक थान र लेखा तथा प्रशासन फाँटबाट एक थान गरी ६ थान कम्प्युटर र केही महत्वपुर्ण कागजात चोरी भएको भएको विद्यालयका प्रधानाध्यापक प्रेमलाल पटेलले जानकारी दिनुभयो । विद्यालयमा जडान गरिएको सिसीटिभी क्यामरासमेत तोडफोड गरिएको प्रधानाध्यापक पटेलले बताउनुभयो । घटनाको जानकारी पाएपछि वृन्दावन नगरपालिकाका मेयर विनोदप्रसाद कुर्मी, पूर्वमेयर रामस्नेही राय यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिकिन्द्र पटेल, स्थायी प्रहरी चौकी विश्रामपुरका र इलाका प्रहरी कार्यालय गरुडाको टोलीले विद्यालयको निरीक्षण गरेको थियो ।इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले चोरीको घटनामा संलग्न एकजनालाई केही सामानसहित पक्राउ गरेको तथा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।



















