काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले अर्थतन्त्रका सूचकहरूमा सुधार ल्याउन ध्यान दिइरहेको बताउनुभएको छ ।आइतवार काठमाण्डौमा आयोजित नेपाल निर्माण व्यवसायी महासङ्घको २४ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका सूचकहरूमा सुधार ल्याउनेतर्फ सरकारले ध्यान दिइरहेको बताउनुभयो । उहाँले देशमा १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने वैदेशिक सञ्चिति रहेको भन्दै सङ्कटमा रहेको अर्थतन्त्र सुधारतर्फ गइरहेको बताउनुभयो ।प्रधानमन्त्री प्रचण्डले अनावश्यक खालका चालु प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीव्रता दिने सरकारको प्राथमिकता रहेको उल्लेख गर्नुभयो । त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीहरूका बाँकी रहेका भुक्तानी समयमै भुक्तान गर्नेतर्फ पनि सरकारको ध्यान रहेको उहाँको भनाइ छ ।उहाँले भन्नुभयो, ‘हाम्रो छिमेककै केही देशहरू वैदेशिक मुद्राको घट्दो सञ्चितिबाट आर्थिकरूपले कठिन अवस्था परेको बेला हामीसँग भने १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने वैदेशिक सञ्चिति रहेको छ । यसले हाम्रो अर्थतन्त्र सङ्कटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको कुरा देखाउँछ । बाह्य क्षेत्र सन्तुलनमा राख्नका निम्ति विगतमा कसिलो मौद्रिक निति जरुरी थियो तर अहिले त्यो सङ्कट टरिसकेको छ । अब आर्थिक गतिविधिलाई कसरी चलायमान बनाउने, अर्थतन्त्रको सूचकहरूमा कसरी सुधार ल्याउने भन्नेतर्फ नै सरकारको ध्यान केन्द्रित छ । अनावश्यक खालका चालु प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीव्रता दिने सरकारको प्राथमिकता छ ।’
प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याजदरलाई घटाउन पनि सरोकारवाला निकायसँग छलफल गरी आवश्यक निर्देशन दिएको बताउनुभयो । उहाँले सार्वजनिक खरिदसम्बन्धी कानुन संशोधन गर्दा निर्माण व्यवसायीहरूको सहभागितालाई समेत सुनिश्चित गर्ने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीहरूप्रति नागरिकको धेरै गुनासो रहेको भन्दै त्यसप्रति सरकार जानकार रहेको बताउनुभयो । निर्माण व्यवसायीहरूले जिम्मा लिएका कामहरू जिम्मेवार र गम्भीर भएर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।



















