सिमरा,उद्योगीहरु आकर्षित नभएपछि सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरण ‘सेज’ मा नेपाल सरकारको अर्बौंको लगानीमा निर्माण भएका भौतिक संरचनाहरू प्रयोगविहीन अवस्थामा पुगेकाछन् ।सरकारले सिमरा सेजमा हालसम्म ९ अर्ब ५७ करोड रुपैयाँ लगानी गरिसकेको छ । विना अध्ययन निर्माण गरिएका ठुलाठुला भवन प्रयोगविहीन बनेका हुन । सरकारले सेजभित्र प्रशासनिक भवन, सेवा भवनहरू (बैंक, बिमा, भन्सार कार्यालय, हुलाक कार्यालय, बालबालिकाहरूका लागि डे केयर, चमेना गृह, प्रदर्शनी हल, आन्तरिक सडक÷पानी ट्याङ्की, आन्तरिक विद्युत प्रशारण लाइन, प्रदुषित पानी प्रशोधन केन्द्र, खोला तटबन्ध लगायतका पूर्वाधार निर्माण गरेको छ ।

सिमरा सेजको ‘ए ब्लकमा’ २ वर्षअघि नै निर्माण भएका यी संरचनाको लागि सरकारले ९ अर्ब ५७ करोड रुपैयाँ लगानी गरेको थियो । सेजमा सञ्चालनमा रहेका उद्योगलाई १ वर्ष निर्यातमा छुटको व्यवस्था छ । तर यदि कुनै उद्योगले उत्पादन गरेको वस्तु विदेश निर्यात गर्न चाहेमा भन्सार पास गर्न व्यवसायीहरु वीरगञ्ज जानुपर्ने बाध्यता छ ।सिमरा सेजका प्राविधिक अजय चौधरीले बैंक तथा वित्तीय संस्थाहरू आएर भवन हेरेरमात्रै फर्कने गरेको बताउनुभयो । सेजभित्र आवश्यक सबै पूर्वाधार निर्माण सम्पन्न भइसकेको उहाँले बताए पनि धर्मकाँटा, पेट्रोलपम्प, भन्सार, बैंक, बिमा, हुलाक, पोलिक्लिनिक बनिसके पनि अहिलेसम्म कुनै पनि सञ्चालनमा आएका छैनन ।

सिमरा सेजको ‘ए’ ब्लकमा २२ वटा उद्योगले सम्झौता गरेका छन् । जसमध्ये ७ वटा भारतीय, ६ वटा चिनियाँ र ४ वटा उद्योगमा नेपाली, चिनियाँ तथा भारतीय कम्पनीको संयुक्त लगानी छ ।सिमरा सेजमा ५ वटा उद्योगमात्रै स्वदेशी लगानीका छन् । २२ उद्योगमध्ये पछिल्लो समय केही उद्योगले उत्पादन सुरु गरेका छन् भने केहीले संरचना निर्माणको काम गरिरहेका छन् । चिनियाँ लगानीकर्ताले जुत्ता, ब्याट्री, अटो एसेम्बल, इलेक्ट्रोनिक पार्टपुर्जा र आलमुनियमका ६ उद्योग निर्माण गरिरहेका छन् ।भारतीय लगानीमा ग्रेनाइड स्ल्याब, टायल, टायर प्रोसेसिङ र कस्मेटिकका ७ उद्योग निर्माणाधिन अवस्थामा छन । सिमरा सेज बाराको जीतपुर सिमरा उपमहानगर वडा नं ४, १४, १५, १६, १७ को ८३३ बिघा क्षेत्रफलमा फैलिएको छ ।

Leave a Reply