राजकुमार यादव
मौलापुर,रौतहटमा केही दिनदेखि लगातार बढिरहेको चिसोले दलित र विपन्न समुदायको जनजीवन कष्टकर बन्दै गएको छ ।रौतहटको न्यूनतम तापक्रम यो वर्षमा कम देखिएको छ । बुधवार बिहान ७ बजेको मापन अनुसार जिल्लाको तापक्रम ९ डिग्री सेल्सियसमा झरेको हो ।बिहानैदेखि चल्ने चिसो हावा, बाक्लो हुस्सु र शीतलहरले घरमा एकछाक खानसमेत धौ–धौ पर्ने यहाँका डोम, मुसहर, ढांगर, चमार, दुसाद बस्तीका बासिन्दालाई बढी प्रभावमा पारेको छ ।तीन दिनयता मौसममा एक्कासी परिवर्तन आएपछि दैनिक ज्यालादारी र मजदुरी गरेर जीवन धान्नेहरू आगो तापेर बस्न बाध्य भएका छन् । चिसोबाट बच्न स्थानीय प्रशासनले कुनै व्यवस्था नगरेको भन्दै उनीहरू आक्रोशित भएका छन । ‘शरीर ढाक्ने लुगा छैन, दिनदिनै जाडो बढिरहेको छ,’ गत वर्ष चिसोले कठ्यांग्रिएर छिमेकी मरेको स्मरण गर्दै मौलापुर नगरपालिका वडा नम्बर ८ बस्ने प्रह्लाद पसवानले, भन्नुभयो, ‘यसपालि फेरि कतिजना मर्ने हुन् । अहिलेसम्म कसैले केही सहयोग गरेको छैन । शरीर ढाक्ने कपडा नहुँदा निकै समस्या छ ।’ कठ्यांग्रिने चिसोमा रात बिताउनु पात–पतिंगर र पराल बालेर आगो ताप्नु परेको बताउँदै उहाँले न्यानो कपडाको व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।ज्याला मजदुरी गरेर जसोतसो दुई छाक टार्ने गरेका यिनीहरुलाई अहिले चिसोका कारण काममा निस्कनसमेत कठिन भएको छ । मौलापुर नगरपालिकाका डोम बस्तीका दस घर–परिवारलाई चिसो छल्न न्यानो कपडा, कम्बल, डस्ना नहुँदा निकै समस्या परिरहेको रमेश मली डोमले बताउनुभयो । ‘चिसो छल्ने त परै जाओस्, एक छाक खाना खान पनि धौ–धौ परिरहेको अवस्थामा कहाँबाट न्यानो कपडा लगाउने ?’ उहाँले भन्नुभयो ।दिनदिनै बढ्दै गएको चिसोले दलित बस्तीका बालबालिका र वृद्धवृद्धा धमाधम बिरामी पर्न थालेको स्थानीय शिक्षक रामप्रवेश साहले बताउनुभयो । असहाय र निमुखा नागरिकलाई जाडोबाट जोगाउन समयमै सहयोग गर्न उहाँले आग्रह गनुभयो । चिसो बढे पनि अहिलेसम्म जिल्ला दैवीप्रकोप उद्धार समिति रौतहटले राहतका लागि कुनै प्रयास नगरेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन ।















