राजकुमार यादव
मौलापुर,रौतहटको गरुडा नगरपालिकाको झाँझपुलस्थित रौतहट ग्राण्डी हस्पिटल एण्ड आई केयर सेन्टरको लापरबाहीका कारण मंगलबार राती एक नवजात शिशुको मृत्यु भएको छ ।अस्पतालका डाक्टरको लापरबाहीबाट कटहरिया नगरपालिका–१ का लक्षुमण राय यादव र सरिता यादवकी नवजात शिशुको मृत्यु भएको हो ।मंगलबार राति सुत्केरी व्यथा लागेपछि लक्षुमण यादवले श्रीमती सरिता यादवलाई सुत्केरी गराउन घर नजिकै कटहरियामा रहेको सरकारी अस्पतालमा लगेका थिए । सो अस्पतालमा सरिताले सामान्य अवस्थामै छोरा जन्माएकी थिइन । सरिताले सामान्य अवस्थामा बच्चा जन्माएपनि जन्म लिएको केहि समयमा उनको छोराको स्वास्थ्यमा समस्या देखिएको थियो ।बच्चाको स्वास्थ्यमा समस्या देखिएपछि कटहरिया अस्पतालमा उपचार सम्भव नहुँदा लक्षुमण यादवले छोराको उपचार गराउन गरुडाको झाँझपुलमा रहेको रौतहट ग्राण्डी हस्पिटल एण्ड आई केयर सेन्टरमा ल्याएका थिए । तर उपचारको क्रममा अस्पतालको एन.आइ.सियु कक्षमा मंगलवार राति १० बजेको समयमा छोराको मृत्यु भएको लक्षुमण यादवले बताएका छन् ।सो अस्पतालका चिकित्सक र डाक्टरले उपचारमा चरम लापरबाहीका कारण आफ्नो छोराको ज्यान गएको पीडित परिवारको आरोप छ ।एन.आइ.सियु कक्षमा राखेर उपचार सुरु गरेको ३ घण्टामै छोराको मृत्यु भएपनि अस्पतालका सञ्चालकले २४ घण्टाको शुल्क दिनका लागि अनावश्यक दबाब दिएको पीडित यादवले बताउनुभयो ।डाक्टरले एन.आइ.सियुको २४ घण्टाको शुल्क लिनका लागि लामो समयसम्म बच्चालाई एन.आइ.सियुमा राखेको र उपचारमा सावधानी नअपनाई लापरबाही गर्दा उपचार नपाएर छोराको मृत्यु भएको पीडित यादवको भनाइ छ ।डाक्टरको लापरबाहीले छोराको मृत्यु भएको भन्दै पीडित परिवारले उपचारमा लापरबाही गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि कारबाही र क्षतिपुर्तिको माग गरेका छन् । अस्पतालले क्षतिपुर्ति नदिए कानुनी बाटो अपनाउने समेत पीडित यादवले बताउनुभयो ।यता मलमुत्र खाएको अवस्थामा उपचार गराउन ल्याएका उक्त नवजात शिशुलाई आफुहरु सक्दो बच्चाउने प्रयास गर्दा पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।रौतहट ग्राण्डी हस्पिटलले स्वास्थ्य जस्तो संवेदनशील विषयमा चरम लापरवाही गरेपनि सम्बन्धित निकायले कुनै कारबाही नथालेको स्थानीयहरुले जनाएका छन् ।यस विषयमा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डएसपी) छेदीलाल कामतीले आफूलाई जानकारी नभएको बताउनुभएको छ ।


















