कलैया,पचरौता नगरपालिकामा जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गरिएको छ । नगरपालिकाका नगर प्रमुख जलान्धर सिंह र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्रले प्रयोगशालाको उद्घाटन गर्नुभएको हो ।पचरौता नगरपालिका र मधेस प्रदेश सरकारको सहकार्यमा उक्त प्रयोगशालाको निर्माण भएको हो । प्रयोगशाला उद्घाटन भएसंगै सेवा प्रारम्भ भएको छ । उक्त प्रयोगशालाबाट स्वास्थ्य समस्या सम्बन्धि ५२ प्रकारका जिवाणुको परीक्षण गर्न सकिने बताइएको छ ।करिब ८० लाखको लागतमा तयारी अवस्थामा आएको उक्त ल्याबको उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्र, वडाध्यक्ष लक्ष्मी यादव, शिक्षा शाखा उपसंयोजक मुकेश सिंहलगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।पचरौतामा प्रयोगशाला नहुँदा स्थानीयहरु ल्याब परीक्षणका लागी कलैया, वीरगन्ज धाउन बाध्य थिए ।यसैबीच पचरौता नगरपालिकामा आयोजित रक्तदान कार्यक्रममा ५८ जनाले रगत दान गरेका छन् । रक्त संचार केन्द्रमा रगतको अभाव हुन नदिन पचरौता नगरपालिकाले रक्त दान कार्यक्रमको आयोजना गरेको हो ।नगरपालिकाको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगन्जले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा रगत दान गर्ने सहभागीलाई नगर प्रमुख जलान्धर सिंहले प्रशंसापत्र वितरण गर्नुभएको थियो ।रक्तदान कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्र, वडाध्यक्ष लक्ष्मी यादव, शिक्षा शाखा उपसंयोजक मुकेश सिंहलगायतको सहभागिता रहेको थियो ।



















