निजगढ,निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरीको सामुदायिक वन क्षेत्रमा बिहीवार साँझ २ वटा बाघ देखापरेका छन ।बस्ति नजिककै जंगलमा बाघ देखा परेपछि स्थानीयबासिन्दा भने त्रसित बनेका छन । स्थानीय हरि लामाले दिएको जानकारीअनुसार वडा नम्बर ११ स्थित दोकानटोल र पश्चिम टोलसंग जोडिएको तपोभूमि सामुदायिक वन क्षेत्रमा साँझ ५ बजे स्थानीय युवाहरुले एक जोडी बयस्क बाघ देखेका हुन ।मोटरसाइकलबाट जंगलको कच्ची बाटो हुदै डम्बरपुर जाने क्रममा कुलोमा पानी खादै गरेको अवस्थामा युवाहरुले बाघ देखेको लामाले बताउनुभयो ।पछिल्लो समय पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र विस्तार भएपछि रतनपुर क्षेत्रमा बाघ लगायत ठूला जनावरको चहलपहलसंगै स्थानीय किसानले पालेका चौपाय बाघले मारेर खाने क्रम पनि बढेको निजगढ नगरकार्यपालिका पूर्वकार्यपालिका सदस्य पवन विकले बताउनुभयो ।

















