राजकुमार यादव
मौलापुर,रौतहटमा दुई समूहबीच विवादका क्रममा भएको छुरा हानाहानमा एक व्यक्तिको मृत्यु भएको छ ।
जिल्लाको कटहरी नगरपालिका वडा नम्बर ५ मा छुरा प्रहारबाट स्थानीय २५ वर्षीय युवक सनिलराय यादवको मृत्यु भएको हो ।शुक्रवार राती कारिब ८ बजे दुई समूहबीच भइरहेको विवादका क्रममा अर्को समूहले प्रहार गरेको छुरा यादवको देब्रे कोखामा लागेको थियो ।छुरा प्रहारबाट अचेत बनेका यादवलाई उपचारका लागि स्थानीयले प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया लगेकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाअघि यादवका दाजुभाइ र अर्को पक्षबीच विवाद भएको थियो । सोही क्रममा भएको छुरा प्रहारबाट यादवको मृत्यु भएको हो ।
यद्यपि रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) महेन्द्र श्रेष्ठले यादवमाथि छुरा प्रहार गर्नुको कारण अहिलेसम्म पनि नखुलेको बताएका छन् । एसपी श्रेष्ठले घटनामा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताउनुभयो ।स्रोतका अनुसार प्रहरीले छुरा प्रहार गरेको आरोपमा बद्री साह सोनार र उनका काका किसन साहलाई पक्राउ गरेको छ ।



















