सिकिन्द्र साह

सिम्रौनगढ,सशस्त्र प्रहरीले बारामा २० कार्टुन भारतीय कुखुराको चल्ला बरामद गरी बिहीबार नष्ट गरेको छ । जिल्लाको सिम्रौनगढ नगरपालिकास्थित बिओपि गोलागन्जका सशस्त्र प्रहरी निरीक्षक मुकुन्द घिमिरेको कमान्डमा खटिएको टोलीले बुधबार राति ३ वटा साइकलमा राखेर भारतबाट नेपालतर्फ ल्याउदै गरेको कुखुराको चल्ला नियन्त्रणमा लिएर स्थानीय जनप्रतिनिधि र संचारकर्मीको रोहबरमा नष्ट पारेको हो ।
विशेष सूचनाको अधारमा प्रहरीले करिव १ लाख ३४ हजार मूल्य बराबराको बीस कार्टुन कुखुराको चल्ला नियन्त्रणमा लिएको थियो । प्रहरीको गस्ति टोलीलाई देखेपछि साइकलमा लोड गरिएको चल्ला त्यसै छाडेर तस्करहरु भने फरार भएको सशस्त्र प्रहरी निरीक्षक घिमिरेले जानकारी दिनुभयो । सिम्रौनगढ नगरपालिकाका वडा अध्यक्ष रमेश कुसवाहा र स्थानीय संचारकर्मी तथा इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरीको रोहबरामा खाल्टो खनेर चल्ला नष्ट गरिएको हो ।

















