वीरगन्ज,नेपाली कांग्रेसले पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरबिन्दकुमार गुप्तालाई १ वर्षका लागि पार्टीबाट निष्काशन गरेको छ । कांग्रेसको केन्द्रीय अनुसाशन समितिले गुप्तालाई १ वर्षका लागि पार्टीको सदस्यताबाट निष्काशन गरेको हो ।

२०७९ को निर्वाचनमा पार्टीका अधिकारीक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई गुप्ताले असहयोग गरेकोभन्दै परेको उजुरीपछि गुप्तालाई समितिले सोधेको थियो । तर सभापती गुप्ताले चित्त बुझ्दो स्पष्टीकरणमा नदिएको भन्दै १ वर्षका लागि पार्टीको सदस्यताबाट निष्काशन गर्ने निर्णय गरिएको समितिका संयोजक एंव पार्टीका केन्द्रिय सदस्य आनन्दप्रसाद ढुंगानाले कांग्रेस मधेस प्रदेश समितिलाई बुधवार पठाएको पत्रमा उल्लेख छ ।
संयोजक ढुंगानाले समितिको असार १७ गते बसेको बैठकले उपलब्ध प्रमाणका आधारमा नेपाली काँग्रेसको विधान २०१७ को धारा ३४ को उपधारा १ (क), (ख) र (घ) तथा उपधारा ८ (ङ) बमोजिम गुप्तालाई १ वर्षका लागि पार्टीको सदस्यताबाट निष्काशन गर्ने निर्णय गरेको जनाउनुभएको छ ।कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीबाट निष्काशन गरिएको भनिएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का स्थायीबासी गुप्ता, कांग्रेस पार्टीमा वरिष्ठ नेता डा. शेखर कोइराला निकट मानिनुहुन्छ ।

गुप्ताले कांग्रेसको आसन्न १५ औं महाधिवेशनका लागि पर्सा क्षेत्र नम्बर १ मा कृयाशील सदस्यतामा कब्जा गर्ने नियतले आँफुमाथि संस्थापन पक्षले कारबाही गरेको बताउनुभएको छ । पर्सा क्षेत्र नम्बर १ मा शेखर कोइराला पक्ष बलियो रहेकोले त्यसबाट डराएर संस्थापन पक्षले आँफुमाथि आधारहिन आरोप लगाएर कारबाहीको नाटक मञ्चन गरेको उहाँको आरोप छ ।अनुशासन समितिका बहुमत सदस्यले ‘नोट अफ डिसेन्ट’ लेख्दा पनि संयोजक ढुंगानाले मनपरी ढंगले निर्णय गरेकाले उक्त निर्णय केन्द्रीय कार्य समितिमा अनुमोदनका लागि पठाउन नसकेको जानकारी आँफुले पाएको गुप्ताले बताउनुभएको छ ।केन्द्रिय कार्यसमितिबाट अनुमोदन नै नभएको निर्णय समितिका संयोजक ढुंगानाले मधेस प्रदेशसमितिलाई सिफारिस गर्नु पार्टीको विधानको ठाडो उल्लंघन भएको गुप्ताको भनाई छ ।

Leave a Reply