मेरो विचारमा, यस निबन्धसङ्ग्रहको मुख्य उद्देश्य हामीजस्ता नयाँ पुस्ताहरूलाई आफ्नो देश, ठाउँ, जन्मभूमिको इतिहास जानकारी गराउनु हो । इतिहासलाई खोजेर, अनुसन्धान गरेर अनि सत्यलाई चित्रण गर्नुभनेको एक असाध्यै कठिन कार्य हो, जसलाई पूरा गर्न लेखक सफल भएका छन् ।
विषय प्रवेश:
‘तथापि’ रौतहटको इतिहास र यादवगोत्रीय राउतहरूसँग सम्बन्धित विभिन्न पौराणिक अनुसन्धेय विषयहरू जोडिएर बनेको एक निबन्ध सङ्ग्रह हो । यो पुस्तक विशिष्ट साहित्यकार शीतल गिरीले लेखेका हुन् । साहित्यकार शीतल गिरीले आफ्नो जीवनको अधिक समय जागिरमा बिताए तापनि उनले यो किताब प्राचीन इतिहासको शोधखोज, स्वाध्ययन र अनुसन्धान गरेर लेखेका छन् । उनले रौतहट आफ्नै जन्मभूमि भएकाले यो किताब लेख्ने निर्णय गरेका हुन् । यो निबन्ध सङ्ग्रह नेपालको प्राचीन सामाजिक विषयवस्तुलाई आधार बनाएर लेखिएको छ । यसमा रहेका विषयवस्तुले रौतहटको ऐतिहासिक कालदेखिको परिवेश पाठकमाझ चित्रण गर्दछ । समग्रमा यस किताबमा १३ वटा निबन्ध रहेका छन्, जहाँ लेखकले रौतहटको सुरुवात, त्यहाँको विकास तथा इतिहासमा भएका विभिन्न अनुमानित घटनालाई प्रस्तुत गरेका छन् ।
विषयवस्तु:
पहिलो निबन्ध ‘बज्जी गणराज्यको अभिनन्दन’ मा लेखकले यादवगोत्रीय राउतहरूका साथसाथै बज्जी गणराज्यको अस्तित्वको इतिहास चित्रण गरेका छन् । यसमा लेखकले पौराणिक मान्यतालाई पनि जोडेका छन् । लेखकको अनुमानअनुसार दासराज्ञ युद्धपछि यादवगोत्रीय राउतहरू आर्य भूमिबाट पूर्वतर्फ हानिँदै, बागमती नदीको पश्चिमी तटमा पुगेपछि त्यसै ठाउँमा बस्न थाले । रौतहटका राउतहरूमा जातीय भावना, मान्यजनको चलन र जन्मदेखि मृत्युसम्मको सहयोगी भावना पाउन सकिन्छ र यसको प्रमाण उनीहरूको इतिहास नै हो । राउतहरूले आफ्नो जातीय गौरव बचाउन भोगेका कष्ट र भोको पेट लेखकले प्रमाण स्वरूप यी निबन्धमा राखेका छन् । राउतहरू युद्धपछि कोही उपत्यकातर्फ लागे त कोही रौतहटमा बस्न थाले । बज्जी गणराज्य एक पशुपालक गणराज्य थियो र बज्जीसङ्घका राउतहरू घुमन्ते पशुपालक भएको कुरा लेखकले बताएका छन् ।
‘छल’ निबन्धमा दक्षिण भारत कर्णाटकका राजा विक्रमादित्य, उनका सेनापति नान्यदेव र उनको शक्तिशाली सेनाले उनको साम्राज्य विस्तार गर्न बज्जी गणराज्यमा आक्रमण गरेको परिवेश रहेको छ तर युद्धमा विक्रमादित्य बज्जी गणराज्यका गणपति मोहितसँग पराजित भएर घाइते हुन्छन् र नान्यदेवले सन्धि प्रस्ताव राखेर घाइते विक्रमादित्यलाई लिएर आफ्नो राज्य फर्कन्छन् तर १ महिनापछि सन्धिको वचनलाई मिथ्या बनाई नान्यदेवले गणपति मोहितको हत्या गरे र त्यसरी छल गरेर कर्णाटक राज्यको पराजय विजयमा परिणत भयो ।


‘सिम्रौनगढ र भग्नावशेष’ निबन्धमा विक्रमादित्य र बज्जी गणराज्यको युद्धपछिको परिणामलाई देखाइएको छ । युद्ध जितेपछि विक्रमादित्य उत्तरपूर्वी भारतका केही क्षेत्रलगायत नेपालको गण्डकीदेखि मिथिलाप्रदेशसम्म आफ्नो राज्य विस्तार गर्न सफल हुन्छन् तर उनको निधनपछि नान्यदेव एक स्वतन्त्र राजाका रूपमा परिचित हुन्छन् । राजा भएपछि नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाउँछन् र राज्यमा सुरक्षाको व्यवस्था पनि गर्छन् तर तुर्क बादशाह गयासुद्धिन तुगलकले सिम्रौनगढमा आक्रमण गरेपछि डोय राज्यको विनाश भयो । लेखकका अनुसार सिम्रौनगढ भग्नावशेषमा परिणत भए पनि त्यहाँका कला र कथाहरू वर्तमान पुस्ताले थाहा पाउनु आवश्यक छ ।
‘सिम्रौनगढ र विस्थापित’ निबन्धमा सिम्रौनगढ र भग्नावशेषको विनाश भएपछि त्यहाँका विस्थापित जनताहरू गैँडाटार गएर बसेको लेखकले भनेका छन् । विस्थापितहरूमा एकता भएकाले उनीहरूले बस्ती बसाल्न लमाहा र चाँनी नदीको दोभानमा भएका गैँडालाई भगाएर त्यस ठाउँलाई गेडही नाम राखेको कुरा लेखकले यस निबन्धमा अनुसन्धान गरेर भनेका छन् । त्यसपछि ‘सुगौना वंश र मधुवन’ निबन्धमा तुर्क बादशाह गयासुद्धिन तुगलकले सिम्रौनगढमा किन आक्रमण गरेका थिए भन्ने कुराको खुलासा भएको छ । गयासुद्धिनको फौजले बङ्गालबाट विजयी भई लुटेको धन सम्पत्ति बोकेर फर्कँदा, सिम्रौनगढका लुटेराहरूले त्यो धन सम्पत्ति लुटेर लग्छन् त्यसैले उनले सिम्रौनगढको देशद्रोही कामेश्वर ठक्कुरको सहयोगबाट सिम्रौनगढलाई नष्ट गरे ।
अन्त्यमा ‘नुनथर’ निबन्धमा लेखकले रौतहटमा स्थित सांस्कृतिक र ऐतिहासिक महत्त्वको क्षेत्र नुनथरको इतिहास बताएका छन् । रौतहटको अग्लो भूभागमा पर्ने नुनथर स्कन्द पुराणअनुसार शिरध्वज जनकको मिथिला राज्यभित्र पर्दथ्यो तर नान्यदेवले डोय राज्यको स्थापना गर्दा नुनथर पनि यसै राज्यमा पर्न आयो । जब हरिसिंहदेव पराजित भए र सुगौना वंशी कामेश्वर ठक्कुर नुनथरका राजा भए तब केही वर्षपछि मकवानपुरका सेन वंशले यस राज्यलाई हातमा पारे अनि पृथ्वीनारायण शाहले मकवानपुरलाई युद्धमा पराजित गरेपछि नुनथर पनि एकीकृत नेपालमा गाभियो ।
मूलभाव:
यस निबन्धले रौतहटको इतिहासबाहेक अरू थुप्रै शिक्षा पनि दिएको छ । ‘छल’ निबन्धले हामीलाई पराजय र जितको बरेमा एक महत्त्वपूर्ण ज्ञान दिएको छ । अन्त्यमा नान्यदेवले छलेर राज्य त प्राप्त गरे, तर त्यो एक तरिकाले उनको हार पनि थियो । उनले आफ्नो वचन तोडे र सन्धिलाई पनि मानेनन् । त्यसै गरी ‘सिम्रौनगढ र भग्नावशेष’ निबन्धमा हामीले देख्न सक्छौँ कि नान्यदेवले डोय राज्यको सुरक्षाको व्यवस्था मिलाउँछन् । छलेर जितेको राज्य भए पनि उनी एक राम्रै राजा थिए । उनले राजधानी सिम्रौनगढमा पोखरी, रुख, मन्दिरहरू आदि बनाए र यसले उनलाई एक असल राजाका रूपमा चित्रण पनि गर्न सकिन्छ ।
यो निबन्ध पढ्दै जाँदा मलाई लेखकको लेख्ने तरिका र भाषाशैली असाध्यै मन पर्यो । उनले अनुसन्धान त गरे तर उनले निबन्धहरूमा आफ्ना विचार र विभिन्न घटनाबारे आफ्ना अनुमानहरू पनि थपेका छन्, जसले पाठकलाई जिज्ञासु बनाउँदछ । लेखकले बिचबिचमा जीवनसँग सम्बन्धित आफ्ना विचारहरू पनि राखेका छन् । उनले इतिहासका जटिल पानाहरूलाई सरल बनाउन सक्दो प्रयास गरेका छन्, जसले गर्दा मलाई किताब पढ्दा असाध्यै सहयोग पनि भयो । मेरो विचारमा निबन्धकारले यो पुस्तकको नाम तथापि राखेका हुन् किनभने हाम्रो इतिहासमा हाम्रा पुस्ताहरूले विभिन्न परिस्तिथिसँग लडेर, आफू बलवान् र देशप्रति लगनशील भएर छुट्टै इतिहास खडा गरेको भए पनि हाल त्यो इतिहास धुमिल भएजस्तो देखिन्छ । विगतमा कति शासक आए, कति युद्ध भए, कति मानिस मरे, कत्राकत्रा सभ्यता विनाश भए, कति भाषा संस्कृति लोप भए, त्यसै गरी फेरि अरू नयाँ आए, फेरि ती विस्थापित भए र त्यसरी नै इतिहासको चक्र चलिरह्यो । यो चक्र र समयलाई छाडेर हामी आधुनिकीकरणतर्फ लागिसक्यौँ तर पनि हाम्रो देश विकास भएको छैन । त्यसैले मेरो विचारमा लेखकले यस निबन्ध सङ्ग्रहको नाम तथापि राखेका हुन् । अहिले देशभक्तिको ज्वाला मानिसहरूमा हराइसकेको छ । यस निबन्धद्वारा हामीले नयाँ पुस्तालाई हाम्रो इतिहास देखाएर, बुझाएर, देशभक्तिलाई मर्न दिनुहुँदैन भन्ने आशय लेखकको रहेको छ भन्ने मलाई लाग्छ ।
निष्कर्ष:
मेरो विचारमा, यस निबन्धसङ्ग्रहको मुख्य उद्देश्य हामीजस्ता नयाँ पुस्ताहरूलाई आफ्नो देश, ठाउँ, जन्मभूमिको इतिहास जानकारी गराउनु हो । इतिहासलाई खोजेर, अनुसन्धान गरेर अनि सत्यलाई चित्रण गर्नुभनेको एक असाध्यै कठिन कार्य हो, जसलाई पूरा गर्न लेखक सफल भएका छन् । लेखक आफ्नो व्यस्त जागिरे जीवनबाट समय निकालेर आफ्नो जन्मभूमिको इतिहासको अनुसन्धानमा लागे । उनको यो लगनशिलता र आफ्नो जन्मभूमिप्रतिको गौरवबोधबाट हामीले पनि हाम्रो अस्तित्वको इतिहास खोज्ने र त्यसबारे नयाँ पुस्तालाई जानकारी दिने प्रेरणा लिन सक्छौँ । सुरु सुरुमा केही निबन्ध पढ्दै गर्दा म असाध्यै अल्मलिएकी थिएँ । म पनि आफ्नो देशको इतिहाससँग परिचित छैन र पौराणिक मान्यताहरूमा म खासै विश्वास राख्दिनँ तर यो किताब पढेर मलाई पनि रौतहटको इतिहासको बारेमा धेरै ज्ञान भयो । पहिलो पटक सुनेको इतिहासलाई बुझ्न कठिन त थियो तर यो जान्न आवश्यक छ त्यसैले म यो पुस्तक विशेष गरी १५ देखि ३० वर्ष उमेरसम्मका मानिसहरूलाई सिफारिस गर्न चाहन्छु ।
पुस्तक: तथापि…
लेखक: शीतल गिरी
प्रकाशक: ओरिएन्टल पब्लिकेसन, काठमाडौँ
विधा: निबन्ध सङ्ग्रह
संस्करण: पहिलो वि. सं. २०७७
निहारीका चापागाईं
कक्षा १०, डियरवाक सिफल स्कुल
copied sahityapost.com















