सिमरा,बाक्लो हुस्सु तथा कुहिरोका कारण जीतपुरसिमरा उपमहानगरपालिकास्थित सिमरा विमानस्थलबाट हुने सबै हवाइ उडान बिहीवार रद्द भएका छन । मधेस प्रदेशअन्तर्गत पर्सा, बारा र रौतहट जिल्लाका यात्रुलाई सेवा प्रदान गर्दै आएको सिमरा विमानस्थलमा हुस्सुका कारण सबै ९ उडान रद्द भएका हुन । यस क्षेत्रमा बिहिबार बिहानदेखि नै बाक्लो हुस्सु लागेको थियो ।केही विमानले उडान रद्द गर्ने बारे अग्रिम सूचना दिए पनि कतिपयले समयमै सूचना नदिदा विमानस्थलमा सयौं यात्रुहरु अलपत्र परेका थिए ।विनानस्थलका सूचना अधिकारी सुरेन्द्र सिंह कुशवाहका अनुसार बाक्लो हुस्सुका कारण भिजिबिलिटी न्यून भएपछि बिहीवारको लागि अनुसूचित भएका ९ वटा उडान रद्द भएका छन् । बुद्ध एयरलाइन्सको ७ र यति एयरलाइसको २ गरी ९ वटै उडान रद्द भएको कुशवाहले जानकारी दिनुभयो । उहाँले बिमानस्थलनमा बिहानदेखि नै अधिकतम ५ सयदेखि ७ सय मिटरसम्ममात्र भिजिबिलिटी कायम रहेको जानकारी दिनुभयो । विमान अवतरणको लागि न्यूनतम २५ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने बताइन्छ ।
















