निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ नदीकट्टास्थित वाक्यश्वर महादेव मन्दिर परिसरमा जारी रात्री मेलामा मनोरञ्जनको लागि राखिएको फन पार्कमा बालबालिकाहरुको आकर्षण देखिएकोछ ।मेलाका विभिन्न स्टलहरु मध्ये बालबालिकाहरुलाई लक्षित गरी राखिएका रेल, जाँते पिङ्ग, डन्लप क्ल्याम्बिङ्ग, रिङ्ग जम्पिङ्ग र रोटेपिङ्ग जस्ता मनोरञ्जनात्मक स्टलहरुमा बालबालिका र उनीहरुका अभिभावकहरुको भीड देखिएको हो । ती स्टलहरुमा हरेक दिन सयौं बालबालिकालाई ल्याएर अभिभावकहरुले मनोरञ्जन गराउने गरेका छन ।

छोराको रमाइलोको लागि पिङ्ग खेलाउन ल्याएको रौतहट फतुवा विजयपुर नगरपालिका मेवा घर भइ हाल निजगढ ७ लच्कामा बस्दैआएकी सोनी यादवले बताउनुभयो । मनोरञ्जका स्टलसंगै सांगितिक कार्यक्रम पनि दर्शक÷स्रोताहरुको बाक्लो उपस्थिति रहने गरेको छ ।

मेलामा चर्चित गायक रचना रिमाल, लोकदोहोरी गायिका प्रमिला मगरले प्रस्तुति दिइसकेका छन भने आज अर्का चर्चित गायक विश्व दोङ्गले प्रस्तुति दिएका थिए । त्यसैगरी नेपाल आइडलकी टप टेन पिटु गहतराज, बबिना किरातीलगायत राष्ट्रिय र स्थानीय स्तरका कलाकारसंगै एस डान्स ग्रुपले प्रस्तुति दिदैआएको छ ।

बालाचतुर्थी पर्वको अवसरमा हरेक वर्ष बालाचतुर्थी पर्वको दिन भक्तजनहरुले मन्दिर परिसरमा भेला भएर रातभरि जाग्राम बस्ने र मृतक आफन्तको संझनामा बत्ति बाल्ने गरिन्छ । सोही क्रममा मन्दिरमा मेला पनि लगाइने गरिएको हो ।
बकैया खोला किनारामा रहेको नदीकट्टामा पर्ने सो महादेव मन्दिर धार्मिक दृष्टिले निजगढको महत्वपूर्ण स्थलको रुपमा रहेको छ ।
मन्दिरमा शिव रात्रि र फागुपुर्णिमामा समेत पूजापाठको लागि ठूलो संख्यामा भक्तजनहरु पुग्ने गरेका छन ।
मेलाको निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले गत कार्तिक २९ गते उद्धाटन गर्नुभएको थियो ।

Leave a Reply