यो क्रमभंगता भन्ने शब्द खासमा नेकपा माओवादीले बढी प्रयोग गर्ने युद्धकालिन शब्द हो । माओवादी शान्ति बार्तामा आएपछि अध्यक्ष प्रचण्डले यो शब्द बढी प्रयोग गरे र उनले अझै पनि नयाँ केही गर्न परेको खण्डमा यही शब्द दोहोर्याउने गर्दछन् । तर, मंगलबार नेपाली राजनीतिको घटनाक्रम हेर्ने हो भने नेपाली काँग्रेसमा यो क्रमभंगता शव्दले सार्थकता पाएको छ । पार्टी संसदीय दलको नेतामा सभापती देउवा विरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिएपछि कांग्रेशमा क्रमभङ्गताको श्रखला सुरु भएको हो । जुन लोकतन्त्रका लागि सुनौलो कुरा मान्न सकिन्छ ।
पुस १० गते प्रधानमन्त्री चयन हुने दिन आउदै गर्दा पार्टीमा संसदीय दलको नेता को बन्ने भन्ने बहस छ तर नेपालका सबै नयाँ त यसै भइ नै हाले पुराना दलहरुले समेत आफ्ना पार्टीका पुरानै अध्यक्षहरुलाई संसदीय दलको नेता बनाएका छन् । संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले पनि यो पदको अर्थ राजनीतिमा छ ।
तर, काँग्रेसमा भने बुधबार यही पदका लागि चुनाव हुदैछ । काँग्रेसमा युवाको प्रतिनिधित्व गर्दै गगन थापाले उम्मेदवारी दिएका छन् र उनलाई काँग्रेसभित्रको केही समूहले साथ दिएको छ भलै थापाको पक्षमा अझै बहुमत पुग्ने अवस्था छैन । उनी संसदीय दलको चुनावमा पराजित नै भए पनि काँग्रेसभित्र उनले गरेको यो कार्य निकै सहनीय छ र नेतृत्व बिरुद्ध कांग्रेसका युवा शक्ति नै बोल्न सक्ने रहिछन् भन्ने प्रमाण पनि थापाले दिएका छन् ।
















