काठमाण्डौं,अमेरिकी कङ्ग्रेसको एक समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चारवटा फौजदारी अभियोग लगाउन सिफारिस गरेको छ । झण्डै दुई वर्षअघि अमेरिकाको संसद् रहेको क्यापिटल हिलमा भएको दङ्गाको छानबिन गरिरहेको समितिले ट्रम्पलाई फौजदारी अभियोग सामना गर्नुपर्ने सिफारिस गरेको हो ।डेमोक्र्याटिक नेतृत्वको समितिले न्याय मन्त्रालयलाई ट्रम्पमाथि अभियोजनसहित सिफारिस गर्न सर्वसम्मत रूपले मतदान गरेको बीबीसीले जनाएको छ । पूर्व राष्ट्रपति ट्रम्पका समर्थकहरूले सन् २०२१ को जनवरी ६ मा क्यापिटल हिलमा अवरोधसहित जो बाइडेनलाई राष्ट्रपति प्रमाणित गर्ने प्रक्रियामा बाधा पुर्याएका थिए । तर ट्रम्पले एक विज्ञप्तिमार्फत् आफूले कुनै गल्ती नगरेको दाबी गर्नुभएको छ ।साथै उहाँले यो सिफारिस आफूलाई पुनः राष्ट्रपतीय चुनावमा भाग लिन रोक्ने प्रयास भएको बताउनुभएको छ । यसअघि नै ट्रम्पलाई अभियोग लगाउने या नलगाउनेबारे विचार गरिरहेका न्याय मन्त्रालयका अभियोजनकर्ताले संसदीय समितिको यो सिफारिसलाई मान्नु पर्छ भन्ने बाध्यता रहेको छैन । सात जना डेमोक्र्याट र दुई जना रिपब्लिकन सदस्य रहेको समितिले आफ्नो प्रारम्भिक १ सय ६१ पृष्ठ लामो कार्यकारी सारांश सार्वजनिक गरेको छ ।

Leave a Reply