निजगढ,मर्मतको लागि सडकमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा आइतवार राति निजगढस्थित पूर्वपश्चिम लोकमार्गको भमरा खोला पारि मोटसाइकलमा सवार २ जनाको ज्यान गएको छ । मोटरसाइकलमा सवार अर्का १ जना गम्भीर घाइते भएका छन ।

मृत्यु हुनेहरुमा रौतहटको गुजरा नगरपालिका वडा नम्बर ३ सिम्रीका २६ वर्षिय भुवन पहरी र २७ वर्षिय रीतबहादुर राई रहेका छन । गम्भीर घाइते सोही ठाउँका २४ वर्षिय सुशिल माझी रहेका छन ।
लोकमार्गको भमरा र धन्सार पुलबीचको जंगलमा पर्ने सिम्री जाने सडकभन्दा करिब २ सय मिटर पर राती करिब ७ बजे सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
चक्का फेर्न भनेर राजमार्ग छेउमा रोकेर राखेको प्रदेश २–०३–००१ ख ४२२९ नम्बरको मालबहाक ट्रकमा निजगढबाट सिम्रीतर्फ जादै गरेको प्रदेश २–०३ –००९ प ३९४३ नम्बरको मोटरसाइकल ठोक्किएपछि मोटरसाइकलमा सवार ३ जना मध्ये दुई जनाको घटनास्थलमा नैं ज्यान गएको प्रहरीले जानकारी दिएको छ । गंम्भीर घाइते सुशिललाई उपचारको लागि भरतपुर पठाइएको जनाइएको छ ।
घटनाको जानकारी पाउनासाथ ईप्रका निजगढ र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराको टोली घटनास्थल पुगेको थियो । मृत्तकको शव पोष्टमार्टमको कलैया पठाइएको छ ।
















