रौतहट २९ कार्तिक ।
चुनावसंगै रौतहटका किसानलाई धान भित्र्याउने चटारो छ । किसान बिहानदेखि बेलुकीसम्म खेतमा व्यस्त हुने गरेका छन् । नेताहरूलाई चुनावी चटारो भए पनि किसानहरूलाई अहिले पाकेको धान भित्र्याउन चटारो छ ।
जिल्लाको उतरी भेगमा पर्ने गुजरा, चन्द्रपुर वृन्दावन नगरपालिका लगायत जिल्लाका अधिकांश भेगका किसानको खेतमा लगाएको धान पाकेर पहेंलपुर भएपछि किसानलाई धानबाली काट्न र भित्र्याउन भ्याइनभ्याई छ ।
सिंचाइको सुविधा भएको र रोगको प्रकोप नभएको क्षेत्रमा भने धानको उत्पादनमा सन्तोषजनक उत्पादन भइरहेको र रोग प्रकोप लागेको क्षेत्रमा धान कम उत्पादन भइरहेको किसानहरू बताउंछन् ।
पाकेको धान पानीले थन्क्याउन नदेला कि भनेर किसान पिरोलिएका छन् ।
वृन्दावन नपा–१ बलरीका किसान शम्भु राउत निर्वाचनभन्दा खेतमा धान काट्न व्यस्त भएको बताउंछन् । ‘समयमा धान नथन्काएमा असिना आउन सक्छ र वर्ष दिन खाने खेती स्वाहा हुन्छ’, उनले भने ।
योपटक दशैंतिहार छिटो भएकाले चाडपर्व सकिएपछि खेतमा धान काट्न थालेको उनको भनाइ छ ।
चन्द्रपुर नपा–१० बालचनपुरका किसान ललन साह पनि वर्षभरिका लागि खाने बाली धान भित्र्याउन खेतमा व्यस्त भएको बताउंछन् । धमाधम धान पाकेकाले र चुनावका कारण पनि काम गर्ने मानिसको अभाव भएको उनले बताए । किसानलाई धान काट्नेसंगै पराल थन्काउन र हिउंदे आलु लगाउन मचामच छ ।
विगतको तुलनामा समयमै पानी परेको तथा धानमा लाग्ने रोगको प्रकोप खासै नदेखिएका कारण यो वर्ष धान उत्पादनमा केही वृद्धि भएको कृषकहरूको भनाइ छ ।
रौतहटमा ५३ हजार ५२० हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ३८ हजार १ सय हेक्टरमा धान खेती हुंदै आएको छ ।
जिल्लाका कृषकहरूले मोटा धानका रूपमा सोना मंसुली, नटवा सोना, पान सोना लगायत जातका धान र मसिनो धान लगाउंछन् ।