निजगढ,निजगढस्थित गौरीशंकर क्याम्पसको १६ औं बार्षिकोत्सव तथा क्याम्पस सभा कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एकबहादुर श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रमको बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले उद्धाटन गर्नुभएको थियो । कार्यक्रममा क्याम्पस भवन निर्माणको लागि आयोजना गरिएको श्रीमदभागवद ज्ञान महायज्ञमा रकम सहयोग गर्ने १९ जना चन्दादाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएको प्रतिनिधि सभा सदस्य मैनालीले दोसल्ला र सम्मान पत्रले चन्दादाताहरुको सम्मान गर्नुभएको हो ।
कार्यक्रममा क्याम्पस प्रमुख रामप्रसाद गौतमले क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन र लेखापाल दिपक श्रेष्ठले आयव्याय विवरण पेस गर्नुभएको थियो । कार्यक्रममा क्याम्पसले आयोजना गरेको अतिरिक्त क्रियाकलामा विजयी हुने छात्रछात्रालाई पुरस्कार वितरण गरिनुको साथै विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाराकी उपाध्यक्ष चण्डिका उप्रेती, निजगढ नगरपालिकाकी उपाध्यक्ष सोममाया थिङ्ग, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल, नेकपा एमाले निजगढ नगर उपाध्यक्ष भोलाप्रसाद गौतम, नेपाली कांग्रेस निजगढ उपाध्यक्ष ज्ञानबहादुर लामा, नेकपा माओवादी केन्द्रका निजगढ अध्यक्ष सन्तोष दङ्गाल, राप्रपा निजगढ अध्यक्ष खडकप्रसाद उप्रेती, गौरीशंकर मावि सडकटोलका प्रधानाध्यापक यादवकुमार तिमल्सिना, निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठलगायतले क्याम्पस सभाको सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन क्याम्पसका शिक्षक जीवन काफ्लेले गर्नुभएको थियो ।



















