पुष्पराज खतिवडा
मनहर्वा,बारा जिल्लाको सदरमुकाम कलैयाका अधिकाँस होटल, रेष्टुराँ तथा सेकुवा पसलमा बालश्रमको प्रयोग हुने गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय नजिकै रहेका अधिकाँस होटल रेष्टुराँ र सेकुवा कर्नरहरुमा बालश्रमको अत्याधिक प्रयोग हुँदै आएपनि नियन्त्रणको लागि कसैको ध्यान पुगेको छैन ।
जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयको ५० मिटरको दुरीमा रहेको कलैया एसी सेकुवा घरमा चारजना बालकहरुले काम गर्दै आएका छन् । उनीहरुलाई भारतबाट ल्याएर नेपालमा काममा लगाइएको बुझिएको छ । राम्रोसँग नेपाली समेत बोल्न नजान्ने ति बालकहरुले वेटरको काम गर्ने, भाँडा माझ्ने, टेबुल सफा गर्ने काम गर्दै आएको हुन । अत्यन्त न्यून ज्यालामा काम गर्दै आएका ती बालकले मासिक ७ हजार तलब पाउने गरेको सुनाए ।
कलैया सेकुवा मात्रै नभएर अधिकाँस होटलहरुमा बालकले नै खानेकुरा दिने, होटल सफा गर्ने, भाँडा माझ्ने काम गर्दै आएको पाइन्छ । ती होटल रेष्टुराँ तथा सेकुवा कर्नरहरुमा गएर खाजा खाने बाल अधिकारकर्मीहरुको समेत यस विषयमा ध्यान पुगेको देखिदैन ।
अधिकारकर्मी बिदुर खड्का बालश्रम न्यूनीकरण गर्न सरकारले कडा कानुन जारी गरेको भएपनि सरोकारलाहरु नै मुखदर्शक बनिदिँदा कानुनको पालनामा नभएको बताउनुहुन्छ ।
नेपालको कानुन अनुसार १८ वर्ष मुनिका बालकलाई काममा लगाउनु अपराध हो । तर कानुन कार्यान्वयन गर्ने निकायको निकम्मापनका कारण बालबालिकाले पनि ठुला मान्छे सरह काम गर्नुपर्ने अवस्था छ । ‘जिल्लाको सदरमुकाम कलैया अधिकाँस अधिकारकर्मीहरुको बसोबास भएकै क्षेत्रमा पर्दछ । सोही क्षेत्रमा बालश्रम भैरहेको विषयमा ध्यान नपुग्नु भनेको अचम्म हो ।’ अधिकारकर्मी खड्काले भन्नुभयो ।
बालश्रम ऐन २०७४ मा १८ वर्ष मुनिका बालबालिकालाई काममा लगाउन नहुने उल्लेख छ । कसैले पनि १८ बर्ष उमेर पुरा नगरेका बालकलाई श्रमिकका रुपमा काममा लगाउनु हुँदैन ,ऐनको परिच्छेद २ (१)मा उल्लेख छ । यस्तै २(२)मा कसैले बालकलाई अनुसुचिमा उल्लेखित जोखिमपूर्ण ब्यवसाय वा काममा लगाउनु हुँदैन भनिएको छ ।
पर्यटन, आवास, मोटल, होटल, रेष्टुराँ, बार, पव, रिसर्ट लगायतलाई ऐनले जोखिमपूर्ण काम हुने क्षेत्र भनेर सम्बोधन गरेको र त्यस्तोमा काम गराउनेलाई ऐनले एक वर्षसम्म कैद वा पचास हजार रुपैंयासम्म जरिवाना वा दुबै सँजाय गर्न सक्ने उल्लेख गरेको छ ।


















