वीरगन्ज, २७ मङ्सिर,प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग वीरगन्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी र कार्यसमिति सदस्यहरुले मंगलवार भेटघाट तथा छलफल भएको छ ।

सङ्घको बैठक कक्षमा भएको सो भेटघाट तथा छलफल कार्यक्रममा सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरुको उपस्थितिमा भएको छलफलले वीरगन्ज लगायत पर्सा र बारा जिल्लाको सुरक्षा प्रवन्ध मजबुत पार्न सहयोग पुग्ने बताउनुभयो । डा. गुप्ताले वीरगन्जसहित पर्सा र बारा जिल्लामा हाल कायम रहेको शान्ति सुव्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने, सीमा सुरक्षा सम्बन्धी बैठक नियमित रुपमा हुनुपर्ने, औद्योगिक सुरक्षा बलको पुनस्र्थापना हुनुपर्ने, वीरगन्जमा बस्ने बाहिरी व्यक्तिहरुको विवरण संकलन गरी डाटाबेस तयार गर्नुपर्ने, वीरगन्जमा सञ्चालित सिसिटिभी परियोजनाको लागि बजेट विनियोजन गर्नुपर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच कार्य सम्पादनमा समन्वय हुनुपर्ने लगायतका विषयहरुमा महानिरीक्षकहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रहरी महानिरीक्षकद्वयले वीउवासङ्घद्वारा उठाइएका विषयवस्तुहरुलाई आपूmहरुले गम्भीरतापूर्वक लिएको बताउनुभयो । उहाँहरुले वीरगन्ज आर्थिक र व्यापारिक नगरी भएकोले यसको महत्व र सुरक्षा गम्भीरतालाई मध्यनजर गर्दै सोही अनुरुपको व्यवस्था मिलाउन दुवै प्रहरी सङ्गठन प्रतिबद्ध रहेको बताउँदै व्यवहारिक कठिनाईहरुलाई निरुपण गर्न मातहतका अधिकृतहरुलाई निर्देशन दिइसकेको जानकारी दिनुुभयो ।

कार्यक्रममा वीउवासङ्घका पूर्वअध्यक्ष प्रदीप केडिया, निवर्तमान अध्यक्ष गोपाल केडिया, कार्यसमितिका सदस्य हरि पन्तले सिसिटिभी परियोजनाको विस्तार र पर्यटन प्रहरीका लागि आवश्यक सवारी साधन उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक मसाऊद आलम खाँ, सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्की, पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, ट्राफिक प्रहरी उपरीक्षक नान्तिराज गुरुङ्ग, प्रहरी अधिकृतहरु, वीउवासङ्घका महासचिव मनोजकुमार दास, सचिव आशीष लाठ, सहकोषाध्यक्ष प्रेमचन्द्र गोयल लगायत उद्योगी, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै सङ्घका उपाध्यक्ष हरि गौतमले औद्योगिक सुरक्षा बलको पुनस्र्थापना अपरिहार्य रहेको विषयमा जोड दिनुभएको थियो ।

Leave a Reply