जनकपुरधाम,जनकपुरधाममा वकिलहरुले मंगलवार पत्रकारमाथि आक्रमण गरेका छन ।नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले गुठी संस्थानसँग लिजमा लिएको जग्गा घेराबारा गर्ने क्रममा वकिलहरुले आक्रमण गर्दा महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र महतो क्रान्ति, पत्रकार दिवाकर रायसहित करिब आधा दर्जन पत्रकार घाइते भएका छन्।

घाइतेमध्ये महासचिव क्रान्तिको पैतालाको हड्डी भाँचिएको छ । अध्यक्ष बन्जाराको भने शरीरका विभिन्न भागमा चोटपटक लागेको जनाइएको छ । त्यसैगरी पत्रकार दिवाकरको टाउकोमा चोट लागेको र उनीहरूको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

महासंघले भूतनाथ महादेवको दक्षिणतर्फ रहेको ४ कट्ठा जग्गा वार्षिक ३ लाख १ हजार १ सय रुपैयाँमा २० वर्षको लागि गुठी संस्थानसँग लिजमा लिएको थियो। तर नेपाल बार एसोसिएसन जनकपुरधामले साउन २० गते सूचना जारी गर्दै सो जग्गामा कानुन व्यवसायीहरुको गाडी पार्किङका लागि प्रयोग गर्ने घोषणा गरेपछि विवाद सुरु भएको हो।
महासंघका अध्यक्ष बन्जाराले गुठीसँग सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर सम्झौता भएको बताउनुभयो । उहाँका अनुसार जग्गा प्रयोग गर्न दिनेबारेमा महासंघसंग मौखिक सहमति भए पनि पछिल्लो समयमा बलजफ्ती कब्जा गर्ने प्रयास भएको हो । बन्जाराले “विद्वान अधिवक्ताहरुको यस्तो व्यवहारले नैतिकता र पेशागत मर्यादामाथि प्रश्न उठेको ।” टिप्पणी गनुभएको छ ।
महासंघका महासचिव क्रान्तिले जेठ ७ गते गोरखापत्रमा सूचना प्रकाशित भई प्रस्ताव पास भएपछि साउन १९ गते औपचारिक सम्झौता भएको स्पष्ट पार्नुभयो । यस विषयमा भदौ ५ गते दुवै पक्षबीच छलफल हुने कार्यक्रम तय भएको छ। महासंघले अनावश्यक विवाद सिर्जना गरेर गतिशीलतामा अवरोध गर्ने प्रयास भए पनि अदालतमार्फत न्याय पाउने विश्वास व्यक्त गरेको छ।

Leave a Reply