वीरगन्ज,वीरगन्जको परवानीपुरस्थित डि.ए.भी. रुकमिनी बनारसी केडिया स्कूल शनिवारबाट २९ वर्षमा प्रवेश गरेको छ ।
२९ वर्षमा प्रवेश गरी ३० वर्षमा लाग्दै गरेको अवस्थामा विद्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको छ । विद्यालय संस्थापक स्वर्गीय शंकरलाल केडियाको ८७ औँ जन्मजयन्ती र विद्यालयको २९ औँ वार्षिकोत्सव भव्य कार्यक्रमका बीच मनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराचन्द्र केडियाको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव एवम् सांस्कृतिक कार्यक्रमको उद्घाटन वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोधकुमार गुप्ताले गर्नुभएको थियो । विद्यालयका संस्थापक एवम् बरिष्ठ उद्योगी तथा समाजसेवी स्वर्गीय शंकरलाल केडियोको तस्विरमा माल्यार्पण गर्दै अध्यक्ष डा. गुप्ताले उहाँको सामाजिक योगदान र व्यक्तित्वको स्मरण गर्नुभएको थियो । विद्यालय ज्ञानको पवित्र मन्दिर भएको बताउँदै डा. गुप्ताले विद्यार्थीहरुलाई शिक्षासँगै अनुशासन, ईमान्दारीता, लगनशिलता जस्ता गुणहरु पनि सिक्नुपर्नेमा जोड दिनुभयो । कितावी ज्ञानका साथै व्यावहारिक ज्ञानले व्यक्तिलाई पूर्णता दिने उहाँको भनाइ छ ।
सोही अवसरमा नेपाल चालम, दाल, तेल संघका केन्द्रीय अध्यक्षसमेत रहेका डा. गुप्ताले इन्दुशंकर विज्ञान प्रयोगशालाको पनि उद्घाटन गर्नुभएको थियो । विज्ञान प्रयोगशालाको उद्घाटन गर्दैै यसको सही सदुपयोग हुने र विद्यार्थीहरु भरपुर मात्रामा लाभान्वित हुने विश्वास पनि डा. गुप्ताले व्यक्त गर्नुभएको छ ।
वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रमलाई सञ्चालक समितिका उपाध्यक्ष एवम् शंकरलाल केडिया डेण्टल हस्पिटलका प्रमुख डा. विजय अग्रवाल, विद्यालय व्यवस्थापन समितिका प्रदीप केडिया, सुनिल केडिया, सौरभ केडिया लगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका पि.जी. कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीहरूले रितिरिवाज एवम् संस्कृतिको जगेर्ना गर्ने किसिमको भेषभुषामा नृत्यसँगै नाटक पनि प्रस्तुत गरेका थिए ।
विद्यालयका प्रिन्सिपल राकेश मिश्राले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण शिक्षिका मेघा दधीचले गर्नुभएको थियो ।



















