वीरगन्ज,हृदयघातका कारण अल्पायुमै निधन भएका पर्साका सक्रिय पत्रकार स्वर्गीय नरेश सर्राफ कहिले पनि बिर्सिन नसक्ने व्यक्ति रहेको वक्ताहरुले बताएका छन् । क्रियाशील युवा पत्रकार मञ्च नेपाल पर्साले स्व. सर्राफको सम्झनामा बिहिवार आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्ने वक्ताहरुले सर्राफको व्यक्तित्वको बारेमा चर्चा गर्दै पर्सा जिल्लाको पत्रकारितामा उनको छुट्टै योगदान रहेका बताएका थिए ।

मञ्चका अध्यक्ष प्रणय कुमारको सभापतित्वमा सम्पन्न श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले स्वर्गीय सर्राफको स्वभाव र आचरणलाई अनुकरण गर्नुपर्नेमा जोड दिनुभएको छ । निष्ठाको पत्रकारिता गर्ने सर्राफ व्यवसायिक पत्रकार भएको बताउँदै उहाँले भन्नुभयो, सर्राफ एक असल पत्रकार हुुनुहुन्थ्यो, असल मान्छे कसैको एकलौटी हुँदैन, सबैको हुन्छ । हामीले पनि व्यवसायिक पत्रकारिता गरेर समाजलाई सकारात्मक बाटोतर्फ डो¥याउने काम गरेपछि मात्रै आत्माले पनि शान्ति पाउनेछ ।’

मधेश प्रदेश प्रेस काउन्सिलका अध्यक्ष एवम् पत्रकार महासंघ सप्तरीका संस्थापक सभापति शिवहरी प्रसाद भट्टराईप्रति पनि श्रद्धाञ्जली अर्पण गर्दै यही समयमा २ जना पत्रकारको निधनले पत्रकारिता जगत स्तब्ध भएको पनि बन्जाराले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले पनि सर्राफको निधनले पर्साको पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति भएको बताउनुभयो । सर्राफ जस्तो निष्ठावान र ईमान्दार पत्रकार गुमाउनु अत्यन्तै दुखद विषय भएको बताउँदै उहाँले सर्राफजस्तै मृत्युपर्यन्त पनि सम्झिने खालको पत्रकारिता गर्न अरुलाई पनि आग्रह गर्नुभयो ।

आँखामा राख्दा पनि नबिझाउने किसिमको स्वर्गीय सर्राफको स्वभाव अनुकरण खालको भएको अध्यक्ष तिवारीको भनाइ छ । सत्यको पक्षमा कलम चलाउने एक व्यक्ति गुमाउनुपरेकोमा उहाँले दुःख व्यक्त गर्नुभएको छ ।

Leave a Reply