वीरगन्ज,मध्यतराइको पहिलो रेडियो, रेडियो वीरगन्ज ९९ मेगाहर्जले आफनो प्रसारणको २० वर्ष पुरा गरेको अवसरमा आगामी मंसिर २४ गते शनिवार वृहत्त रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

बिहीवार साँझ रेडियो वीरगन्ज परिसरमा आयोजित पत्रकार सम्मेलनमा रेडियो वीरगन्जका कार्यकारी अध्यक्ष ध्रुव साहले रक्तदान कार्यक्रम भव्य रुपमा सफल पार्न रेडियोका श्रोता, विज्ञापनदाता, शुभचिन्तक लगायत सरोकारवालाहरुमा आग्रह गर्नुभयो ।

समाजिक क्षेत्रमा समेत उल्लेख्यनीय योगदान पु¥याउदै आएको रेडियो वीरगन्जले २० औ वार्षिकोत्सवको अवसरमा रेडियो परिसरमा आयोजना हुने रक्तदान कार्यक्रममा विगतका बर्षहरुमा झै यस वर्ष पनि उल्लेख्य सहभागिता जनाउन पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष साहले आह्वान गर्नुभएको हो ।

वार्षिक उत्सवको अवसरमा रेडियोले विभिन्न कार्यक्रमको समेत आयोजना गर्ने अध्यक्ष साहले जानकारी दिनुभयो । आफ्ना श्रोता, विज्ञापनदाता, शुभेच्छुक, सबैको अपार स्नेहका कारण रेडियो वीरगन्ज मध्यतराईका जनताको ढुकढुकी बन्न सफल भएको साहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कार्यकारी अध्यक्ष साहले रेडियो वीरगन्जसँगै संचारको क्षेत्रमा टिभी वीरगन्ज, रेडियो पोखरीया र मधेसदृष्टि राष्ट्रिय दैनिक प्रकाशन शुरु गरेको जानकारी दिदै रेडियो वीरगन्जबाट शुरु भएको यात्रा अहिले मधेसदृष्टि सम्म पुग्नुमा श्रोता, पाठक, विज्ञापनदाता, दर्शकहरुको आपार माया भएको दावी पनि गर्नुभयो ।

रेडियोले पूर्वसहकर्मी एवं सहयोगी पत्रकार नरेश सर्राफ र मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष एवं सप्तरीका नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष शिवहरि भट्टराईको असामयिक निधनका कारण यसअघि गर्ने भनिएको वृहत्त सांस्कृतिक कार्यक्रम भने यस वर्षका लागि स्थगित भएको पनि साहले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनको सहजीकरण रेडियो वीरगन्जका समाचार प्रमुख ध्रुव अधिकारीले गर्नुभएको थियो ।

Leave a Reply