सिमरा,बाराको पसाहा खोलामा गरिएको जथाभावी उत्खनन् बारे उजुरी परेपछि बाराको जितपुर सिमरा उपमहानगरपालिकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ । हेटौडास्थित अख्तियारको क्षेत्रीय कार्यालयले जीपुरसिमरा उपमहानरगालिकालाई भदौ २४ गते पत्र काटेर उपमहानगरकी उपप्रमुख सरस्वती चौधरी, तत्कालीन निमित्त प्रशासकीय प्रमुख शिवजी प्रसाद र आर्थिक प्रसासन प्रमुख सुवास कार्कीलाई १५ दिनभित्र अख्तियारमा उपस्थित गराइ दिन आग्रह गरेको छ ।

पसाहा खोलामा भएको नदीजन्य पदार्थको उत्खनन् बारे जानकारी लिनु पर्ने भएकाले तीनै जनालाई आफनो नागरिकता र हालसालै खिचेको फोटो सहित उपस्थिति हुन अख्तियारले पत्र काटेको हो । जीतपुरसिमरा उपमहानगरपालिकाले ठेक्कामा लगाएको पसाहा खोलामा नियम विपरित नदिजन्य पदार्थको जथाभावी उत्खनन् गरिएको र त्यसविरुद्ध उजुरी परेपछि अख्तियारले पत्र काटेको हो । जीतपुरसिमरा उपमहानगरपालिकाले ठेक्का लगाएको खोलामा केहि समय पहिले डिभिजन वन कार्यालय बाराले अनुगमन गर्ने क्रममा पनि जथाभावी ठूला ठूला खाडल बनाएर उत्खनन गरेको भेटिएको थियो ।

वन क्षेत्रभित्र रहेको खोलाको दुवै भूभागमा जथाभावी रुपमा एक्जाभेटर प्रयोग गरेर खाडल बनाउँदा बर्सेनी वनको भूभाग पनि मासिँदै गएको छ । जेठ मसान्तसम्म पसाहाका साथै दुधौरा र बालगंगा गरि तीन वटा खोलाबाट ९४ लाख घनफिट गिटी, ढुंगा, बालुवा उत्खनन गर्ने गरी गत आर्थिक वर्षमा जीतपुरसिमरा उपमहानगरपालिकाले विनोद निमार्ण सेवासँग ठेक्का सम्झौता गरेको थियो । जसमध्ये पसाहा खोलाबाट ४५ लाख ४६ हजार ६ सय ४ घनफिट मात्र उत्खनन अनुमति पाएकोमा तोकिएको मापदण्डभन्दा ५ गुणा धेरै उत्खनन् गरिएको अवस्थामा भेटिएको डिभिजन वन कार्यालयले जनाएको थियो । तोकिएको मापदण्ड भन्दा ५ गुणा बढी उत्खनन हुँदा लाखौं रुपैयाँ राजस्व हिनामिना भएको वन कार्यालयका कर्मचारीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here