वीरगन्ज,महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत बुधवार पर्साको ठोरी गाउँपालिका ३ ढुंगे बजारमा महिला हिंसा सम्बन्धी अन्तरक्रिया तथा रयाली कार्यक्रम सम्पन्न भएको छ ।
क्याप्टिभेटिनङ इन्टर नेशनल फाउन्डेसन, आसमान नेपाल, महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था, आशिष नेपालको सहयोगमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली रेग्मीले अझ पनि समुदायका महिलाहरु हिंसा विरुद्ध लडन शसक्त नभएको बताउनुभयो । समुदायमा पुरूषहरूबाट आफ्नै घरमा महिला तथा बालबालिकाहरु हिंसाको सिकार हुने गरेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘पुरूषहरु रक्सी खाएर घरमा श्रीमतीमाथि कुटपिट गर्ने, बहुविवाह गर्ने र बलात्कार जस्ता घटना रोकथामका लागि महिलाहरु आफैं शसक्त हुनुपर्छ ।’
महिला हिंसा रोक्न आफैबाट शुरुवात गर्नु पर्ने उहाँले बताउनुभयो । कार्यक्रममा ज्ञानुमाया जोशी, महिला सदस्य बृतमाया विक, सपिका मगर, निला राम, रोसन सुनार लगायतले मन्तव्य व्यक्त गरेका थिए । आसमान नेपाल ठोरी पालिकाका संयोजक धर्मेन्द्र चौरसियाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
अन्तरकृया कार्यक्रमपछि रयाली निकालिएको थियो । महिला विकासको भवनबाट बिभिन्न नारा लेखिएका प्लेकार्ड सहित निस्केको रयाली गाउँ परिक्रमा गरी वडा कार्यालयमा पुगेर समापन भएको कल्पना घिमिरेले जानकारी दिनुभयो ।
















