संबिधानअनुसार नेपाल अहिले संघीय लोकतान्त्रिक गणतान्त्रात्मक मुलुक रहेको छ । नेपालमा लामो समय शासन सत्तामा रहेका राज संस्थाको औपचारिक रुपमा अन्त्य भएको पनि करिब दुई दशक हुनै लागेको छ । जे सुकै भएपनि जनतबाट निर्वाचित सभाले नै नेपाललाई राजसंस्था मुक्त देश बनाएको हो तर समयसंगै फेरि राजाको माग गर्र्दै नेपालमा प्रदर्शन भयो ।
शुक्रवार काठमाडौंमा राजा ल्याउने भन्दै प्रदर्शन भयो, मानौं केटाकेटीले खेलौंना पाएन वा चकलेट अभिभावकले किनिदिएन भने जिद्दी गर्छ त्योभन्दा अराजक हिसावले राजावादीहरुको प्रदर्शन भयो जुन क्षम्य छैन र हुँदैन पनि । मुख्य गरी संचार क्षेत्रमा भएको घटना अनि पसलहरुमा लुटपात अन्यन्तै आपत्तिजनक विषय हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहले केही दिन अगाडि गोरखा गएर यो आफूले देशमा शान्ति कायम होस् भन्ने चाहेको बताएका थिए तर शुक्रवारको प्रदर्शनमा त्यसको ठीक उल्टो व्यवहारमा भयो ?
राजा सबैको साझा हुनु पर्दछ । सबै नेपालीहरुले राजाको चाहना राखेमा कसैले पनि हटाउन सक्ने कुरै भएन अनि सडकमा ताण्डव मच्चाएर र आतंक कायम गरेर आएको राजाले गर्ने के हो र ? कम्तीमा राजावादीहरुले बुझ्नु पर्ने कुरा को हो भने राजाको पक्षमा धेरै जनता छैनन् अनि जवरजस्ती गरेर देशमा राजा आउने कुरा भएन र मानौं राजा आइहाले पनि ज्ञानेन्द्र शाहले भनेको जस्तो शान्ति हुन्छ त ?
सत्य कुरा के हो भने नेपालका नेता हुन वा कुनै समूह कसैको उक्सावट नभएरसम्म उत्ताउलो हुँदैनन् अहिले जसले उचालेको छ त्यो घातक छ । पत्रकार मार्दैमा, नागरिकहरुको हत्या गर्दैमा देशमा परिवर्तन हुदैन भइहाले पनि राम्रो हुँदैन र टिक्दैन पनि ।त्यसैले यस्ता अराजक तत्वहरुलाई सरकारले कारबाही गर्नु नै पर्दछ । लोकतन्त्रको नाउँमा छुट दिँदै जाने हो भने अराजकता बढ्ने निश्चित छ । सरकार अलि कठोर बनोस् र आवश्यक परे ज्ञानेन्द्र शाहलाई समेत कारबाही गरोस् ।
















