निजगढ,बिमा बापतको रकम भुक्तानी नपाएपछि पीडित बनेका निजगढका केरा किसान रकम माग गर्दै काठमाण्डौंमा पुगेका छन ।
निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गको नेतृत्वमा बिमा रकम माग गर्दै निजगढका किसानहरु बिहीवार काठमाण्डौं पुगेका हुन । किसानहरुले काठमाण्डौंस्थित कृषि विभाग, बिमा कम्पनी र बिमा समितिको कार्यालयमा पुगेर रकम माग गर्दै ज्ञापनपत्र बुझाएका छन । ५ दिनभित्र रकम उपलब्ध नगराए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइएको निजगढ नगरपालिका वडा नम्बर ७ का पूर्ववडा अध्यक्ष एंव केरा किसान रामजी बजगाईले बताउनुभयो । ज्ञापनपत्र बुझ्दै बिमा समितिकी सहायक निर्देशक पुनम ज्ञावालीले किसानले पाउनु पर्ने रकम तत्काल उपलब्ध गराउने प्रवन्ध गरिने बताएको बजगाईले जानकारी दिनुभयो ।
टोलीमा फलफुल तथा केरा उत्पादक किसान संघ बाराका अध्यक्ष एकबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेबी खनाल लामिछानेलगायत किसानहरुको सहभागीता रहेको छ ।
निजगढमा गत बैशाख १६ गते आएको हावाहुरीले क्षति पुगेको केरामा कम्पनीले बिमा बापतको रकम अझै नदिएको निजगढ ९ का किसान माधव न्यौपानेले बताउनुभयो । उहाँका अनुसार त्यसयता कम्पनीले निजगढका किसानलाई झण्डैं ५ करोड रुपैया भुक्तानी दिन बाँकी छ । राष्ट्रिय बीमा समितिमार्फत हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले निजगढका किसानको केरा खेतीको बिमा गरेको हो ।
गत वैशाख १६ गते र त्यसयता वर्षासँगको हुरीले केराको बोट ढालेर निजगढमा किसानको ९ करोडभन्दा बढी मूल्यको केरा खेती नष्ट भएको थियो । निजगढमा करिव १२ सय बिघा केरा खेती गरिएकोमा करिव १८० बिघा जमिनमा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षति भएको थियो ।
किसानले क्षतिको जानकारी गराएको ३ महिनाभित्र कम्पनीले रकम भुक्तानी गर्नुपर्ने प्रावधान रहेको भए पनि किसानले लामो समयसम्म बिमा रकम पाउन नसकेका हुन ।



















