वीरगन्ज,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाराले मंसिर ४ गते बाजुरामा भएको चेतन एडी हत्या प्रकरणमा संलग्न व्यक्तिलाई पक्राउ गरी यथाशिघ्र कारवाही गर्न माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको ध्यानाकर्षण गराउदै अनेरास्ववियुका विद्यार्थी नेताले ३३ वर्षीय एडीको हत्यामा संलग्न व्यक्तिलाई कानुनी दायमा ल्याएर कारबाही गर्न माग गरेका हुन । अनेरास्ववियु बाराका अध्यक्ष सरोज खनालसहितका विद्यार्थीले नेताले बुधवार बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई ध्यानाकर्षणपत्र बुझाउदै एडी हत्या प्रकरणमा निष्पक्ष छानबिन गर्न सरकारसंग माग गरेका हुन् ।

 

ध्यानकर्षणपत्र बुझाउने क्रममा अनेरास्ववियुका निर्जल घिमिरे, ईश्वर बस्नेत, संगिता गौतम, पार्वती दाहाललगायतका विद्यार्थी नेता सहभागी थिए । ध्यानाकर्षण पत्रमार्फत अनेरास्ववियु बाराले घरमा सुतिरहेको व्यक्तिलाई बाहिर ल्याएर कुटपिट र हत्या गर्दासम्म सरकार मौन रहेको भन्दै अपराधिक गतिविधिको संरक्षण नगर्न आग्रह गरेको छ ।

सत्ता गठबन्धनको आडमा घटना भएको भन्दै अनेरास्ववियुले हत्या प्रकरणमा संलग्न अपराधीलाई तत्काल पक्राउ र कारवाही गर्न माग गरेको छ । अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष समेत रहेका एडीको मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएको राती हत्या भएको थियो । त्रिवेणी नगरपालिका ७ स्थित नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा भएको विवादलाई लिएर घरमा सुतिरहेको समयमा नेपाली कांग्रेसका कार्यकर्ताले एडीलाई घरबाहिर बोलाएर कुटपिट गरेका थिए । कुटपिटबाट गम्भिर घाईते एडीलाई अछामको बयलपाटा अस्पताल लगिएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यसैगरी नेकपा एमाले निकट अनेरास्ववियुका नेता चेतन ऐडीका हत्यारालाई कारबाही गर्न अनेरास्ववियु जिल्ला कमिटी पर्साले माग गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियु पर्साका अध्यक्ष रेयाज अन्सारीले हत्यारा पत्ता लगाएर यथाशिघ्र पक्राउ गरी कारबाही गर्न माग गर्नुभएको छ ।

मृतकका परिवारका तर्फबाट सप्रमाण किटानी जाहेरी दिएकाहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने, परिवारका सदस्यलाई उचित क्षतिपूर्ति र भरणपोषणसहित चेतन ऐडीको छोराको उच्च शिक्षा सम्मको पढाईको जिम्मा नेपाल सरकारले लिनुपर्ने, न्यायका निम्ति शान्तिपुर्ण दवाव दिँदा झुठो मुद्दा लगाइएका अनेरास्ववियु बाजुरा जिल्ला अध्यक्षसहितका नेताहरुलाई मुद्दा खारेज गरी बिना शर्त रिहाई गर्नुपर्ने माग उनीहरुले राखेका छन् ।

साथै चेतन ऐडीलाई शहिद घोषणा गर्नुपर्ने, ऐडीको स्मृतिमा पार्क निर्माण गर्नुपर्ने पनि अनेरास्ववियुले माग राखेको अनेरास्ववियु वीरगन्ज महानगर कमिटीका अध्यक्ष आशिफ अहमदले बताउनुभयो । आफ्ना मागहरुको यथोचित सम्बोधन नभएमा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि अहमदले दिनुभएको छ ।

जिल्ल अध्यक्ष रेयाज अन्सारीसँगै संघका सचिव पवन यादव, सहसचिव रामपुकार, ठाकुरराम क्याम्पस इकाई कमिटीका उपाध्यक्ष अरमन हास्मी, शुभनारायण राजेन्द्र साहलगायतको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको अनेरास्ववियु वीरगन्ज महानगर कमिटीका अध्यक्ष आशिफ अहमदले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here