वीरगन्ज,वीरगन्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा ३२ अर्ब रुपैयाँभन्द बढीको भटमास, पाम र सूर्यमुखीको प्रशोधित तेलको निकासी भएको छ ।
गत आर्थिक वर्ष अवधिको यसै अवधिको तुलनामा यी तेलको निकासी अत्यधिक बढी हो । यी तेल भारत निकासी भएका हुन् । वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको कात्तिक महिनासम्मको अवधिमा यी तीनै तेलको उच्च निकासीको कारण यो नाका हुँदै सर्वाधिक निकासी हुने वस्तुहरुको सूचीमा भटमास र पाम तेल क्रमश पहिलो र दोश्रो नम्बरमा तथा सूर्यमुखीको तेल चौथो नम्बरमा रहेका छन् ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा यो नाकाबाट १७ अर्ब २० करोड ९० लाख रुपैयाँ बराबरको ७ करोड ५९ लाख किलो भटमासको तेल निकासी भएको छ । तुलनात्मक रुपमा गत आवको यसै अवधिमा ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको ४ करोड ८२ लाख किलो भटमासको तेल निकासी भएको थियो । त्यसैगरी समीक्षा अवधिमा यो नाका हुँदै १३ अर्ब ४० करोड रुपैयाँ बराबरको ७ करोड ६ लाख लिटर प्रशोधित पाम तेल निकासी भएको छ ।
गत आर्थिक वर्षको यस अवधिमा यो तेलको निकासी शून्य रहेको थियो । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म यो नाका हुँदै १ अर्ब ५८ करोड रुपैयाँ बराबरको ७९ लाख ५३ हजार किलो सूर्य मुखीको प्रशोधित तेल निकासी भएको छ ।
गत आवको यसै अवधिमा ११ करोड ४८ लाख रुपैयाँ बराबरको ८ लाख ५१ हजार किलो सूर्यमुखीको प्रशोधित तेल निकासी भएको थियो । भारतले आफ्नो मुलुकका उद्योगले आन्तरिक बजारको माग धान्न नसक्ने अवस्था आएपछि छिमेकी मुलुकहरुबाट पाम आयल, भटमास तेल, बनस्पति घिउ आदिको आयात खुल्ला गर्छ । फेरि आफ्ना मुलुकका उद्योगी व्यवसायीको दबाबमा अचानक यस्ता वस्तुको आयात रोक्ने गर्छ ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवाल नेपाली उद्योगीहरुले विभिन्न मुलुकबाट भटमास, पाम र सूर्यमुखीको कच्चा तेल आयात गरी त्यसलाई प्रशोधन गर्ने गरेको बताउँनुहुन्छ । भारत बाहेक कुनै महिनामा थोरै परिमाणमा जर्मनी लगायत युरोपेली मुलुकमा भटमासको तेल निकासी भए पनि त्यो न्युन परिमाणमा हुने गरेको छ ।