कृष्णमोहन साह
सेढवा, ६ भदौँ– जिल्ला प्रशासन कार्यलयले पर्सा जिल्लामा जारी गरेको निषेधाज्ञा स्थानीयहरुले पालना नगरेर मनोमानी हिडडुल गर्न थालेपछि जिल्लाको ठोरी गाउँपालिकाकाे वडा कार्यालयले नम्बर– १ मा आइतबारबाट आगामी भदौँ १३ गतेसम्मकालागि शील गर्ने निर्णय गरेको छ ।
अध्यक्ष रामप्रकाश कुँवरको अध्यक्षतामा वडा कर्यालयमा बसेको सर्वपक्षीय बैठकले कोरोनाको जोखिम बढेको भन्दै वडा नम्बर–१ लाई आगामी १ हप्तासम्मकोलागि पुर्णरुपमा शील गर्ने निर्णय गरेको हो ।
बैठकले वडाभित्र रहेका औषधि पसल तथा क्लिनिकहरु २४ सैँ घण्टा खोल्न दिने तर खाद्यान्न सामग्री बेच्ने पसलहरु भने बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्ममात्र खोल्नु पर्ने निर्णय गरिएको वडाध्यक्ष कुँवरले जानकारी दिनुभयो । त्यसैगरी कुटान पिसान मिलमा सम्बन्धितले अघिल्लो दिन नै ल्याएको भारी मिलवालाले कुटान पिसान गरि भोलिपल्ट मात्र दिनुपर्ने व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ ।
त्यसैगरी वडामा सरकारी नम्बर प्लेटका सवारी साधनबाहेका निजी मोटरसाइकल र अन्य सवारीसाधन संचालनमा पुर्णरुपमा बन्देज लगाउने निर्णय पनि बैठकले गरेको छ । तर अत्यावश्यक काम परेकाहरुको लागि भने वडा कार्यालयले नै पासको व्यवस्था गर्ने निर्णय गरेको कुँवरले जानकारी गराउनुभयो । वडा कार्यालयले अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन र ३ जना भन्दाबढी व्यक्ति जम्मा भएर नबस्नसमेत वडा कार्यालयमार्फत अपील गर्ने निर्णय भएको छ ।
त्यसैगरी एम्बुलेन्स तथा औषधि पसलमा सेनेटाइजर गर्नुपर्ने टोलटोलमा सचेतना मूलक कार्यक्रम संचालन गर्ने निर्णय गर्दै सबैले अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम हुनुपर्ने, कुनैपनि समान लिनुदिनु परेमा सेनिटाइजरको प्रयोग गर्न गराउने निर्णय पनि गरिएको वडा सदस्य रबिन तिमल्सिनाले जानकारी दिनुभएको छ ।
यसैक्रममा वडा कार्यालय पनि हाललाई बन्द गर्ने र कार्यालयले उपलब्ध गराउने सेवा भने बन्द नहुने बताइएको छ । वडा सदस्य तिमल्सिनाकाअनुसार वडा कार्यालयबाट उपलब्ध हुने सेवा हाललाई घरबाट नै प्रदान गरिने निर्णय गरिएको छ । कोराना भाइरस महामारी नियन्त्रण रोकथामको लागि वडा कार्यालयमार्फत निर्धारण गरिएको कार्यविधि सबै वडाबासीले लागु गर्नुपर्ने अन्यथा कसैले उल्लङ्गन १ सय रुपैया जरिवाना गरिने निर्णय भएको पनि वडाध्यक्ष कुँवरले जानकारी दिनुभयो ।
बैठकमा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । शनिबारमात्रै यस वडामा होम क्वारेन्टाइन बसेका २ र अन्य १ गरी ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।