नेपालमा आमाको नामबाट नागरिकता दिने विषयमा निकै बहस भएको थियो । केही राजनीतिक दलले यसलाई राजनीतिक मुद्दा पनि बनाएका थिए तर बारामा आमाको नामबाट दुई जनालाई अङ्गीकृत नेपाली नागरिकता पाएका छन् । अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्नेमा बारा जिल्लाको कलैया उपमहानगरपालिका– ५ निवासी कान्ती देवी कुर्मीका छोरा सुरत राउत र कलैया उपमहानगरपालिका– ४ निवासी चन्द कुमारी क्षेत्रीका छोरा सागर सिंह रहेका छन् ।
सरकारले कानुन बनाएपछि उनीहरु जस्ताका लागि राहत भएको हो । नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०६३ तथा नेपाल नागरिकता नियमावली (चौथो संशोधन), २०६३ बमोजिम उनीहरूलाई आमाको नामबाट अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो । नागरिकता ऐनमा गरिएको संशोधनपछि आमाको नामबाट पनि नागरिकता प्राप्त गर्न सकिने स्पष्ट कानुनी व्यवस्था भएअनुसार बारामा पहिलोपटक यो प्रक्रिया कार्यान्वयनमा आएको हो । आमाको नामबाट नागरिकता वितरण सुरु भएसँगै नागरिकताको पहुँचबाट वञ्चित नागरिकहरूलाई सहजता मिल्ने अपेक्षा गरिएको छ ।
मुख्यतः नेपालमा बढी चलनमा रहेको नागरिकता भनेको बंशज कै हो । आमाको नाउबाट सन्तानलाई नागरिकता दिने बिषयमा केही समय अगाडिसम्म कानुन मौन थियो । मुख्यतः बुवा बिदेशी भएको खण्डमा आमाको नामबाट संतानले नागरिकता पाउने हो । यस्तो बिषयमा राज्य कठोर पनि बन्नु हुन्न । हो,नागरिकता सबैले पाउने कुरा होइन तर नेपालीले पाउनु पर्दछ । यो उसको अधिकार पनि हो तर दुरुपयोग हुन्छ कि भनेर सचेत भने हुन अति आवश्यक छ ।
















