वीरगन्ज,पर्सा क्षेत्र नम्बर ३ मा नेकपा एमालेका राजकुमार गुप्ता २४ हजार ३१९ मतकासाथ विजयी हुनुभएको छ । समानुपातिकतर्फको मत गणनामा फेला परेको प्रतक्ष्यतर्फको मत गणना गर्दा गुप्ताको ५९ मत थपिएको हो ।

यसअघि निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार राजकुमारले नेपाली कांग्रेसका सुरेन्द्र चौधरीलाई १५२ मतान्तरले जितेको भनी घोषणा गरिएको थियो । अब गुप्ता १६७ मतान्तरमा विजयी हुनुभएको थियो ।

समानुपातिकतर्फको मतगणना हुँदा प्रत्यक्षतर्फको मत फेला परेपछि विवाद सुरु भएको थियो ।

प्रत्यक्षतर्फ खसेको मतमा २७२ मतको हिसाब नमिलेपछि नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र चौधरीले निर्वाचन अधिकृतको कार्यालयमा पुनः मतगणनाका लागि निवेदन दिनुभएको थियो । विवादका बावजुद निर्वाचन अधिकृतको कार्यालयले एमाले नेता राजकुमार गुप्तालाई निर्वाचित घोषित गरे पनि प्रमाणपत्र नदिई रोकेर राखेको थियो ।

समानुपातिकतर्फको मतगणना गर्ने क्रममा भेटिएको प्रत्यक्षतर्फको १५५ मत गणना गरेपछि पनि एमालेका राजकुमार गुप्ता अगाडि देखिनुभएको हो ।

१५५ मतमध्ये ५९ मत एमाले, ४३ मत कांग्रेस, २३ नेपाल सुशासन पार्टी, ३ मत राप्रपा, ४ मत राष्ट्रिय स्वतन्त्र पार्टी, ३ मत अरु चिह्नमा र २० मत बदर भएको छ । प्रत्यक्षतर्फको सबै मत जोड्दा नेकपा एमालेका उम्मेदवार राजकुमार गुप्ता १६७ मतान्तले निर्वाचित भएका निर्वाचन अधिकृत योगनाथ ढकालले जानकारी दिनुभयो ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार राजकुमारको २४ हजार ३१९ मत पुगेको छ भने सुरेन्द्रको २४ हजार १५२ मत पाउनुभएको छ । पहिले सार्वजनिक भएको मतपरिणाममा राजकुमार १५२ मतान्तरले जितेको भनी घोषणा गरिएको थियो ।

मंसिर ४ गते भएको निर्वाचनमा पर्सा–३ मा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ कुल ६४ हजार ४४८ मत खसेको सार्वजनिक भएको थियो । तर पछि मतगणनाका क्रममा मतपेटिकाबाट ६४ हजार १७६ मतपत्र मात्रै भेटिएपछि विवाद भएको थियो ।

Leave a Reply